महिला फुटबल : भारतसँग माल्दिभ्स ५–० ले स्तब्ध
कपन अनलाइन
काठमाडौं, मंसिर १८।
१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत भइरहेको महिला फुटबल प्रतियोगितामा भारतले विजयी सुरुआत गरेको छ । पोखरा रंगशालास्थित फुटबल मैदानमा मंगलबार भएको खेलमा भारतले माल्दिभ्समाथि ५–० को फराकिलो अन्तरले जित निकालेको हो ।
खेल सुरु भएको छैठौं मिनेटमै डेंगी ग्रेसको पहिलो गोलसँगै भारतले माल्दिभ्सविरुद्ध अग्रता लिएको थियो । खेलमा भारतकी एनजी बालादेवीले उत्कृष्ट प्रदर्शन गरिन् । उनले भारतलाई जित दिलाउन २ गोलको महत्वपूर्ण योगदान दिइन् ।
खेलको २६ औं मिनेट र ३५ औं मिनेटमा बालादेवीले गोल गरेपछि भारत महिला फुटबल टोली माल्दिभ्समाथि हाबी भएको थियो । खेल अवधिभर भारत माल्दिभ्समाथि पूर्ण दबाब राख्न सफल भयो । माल्दिभ्सले पनि थुप्रै अवसर पाएपनि त्यसलाई गोलमा बदल्न भने असमर्थ रह्यो ।
डिफेन्समा कडाइ नगरी अट्याकमा उत्रिएपनि माल्दिभ्सले कुनै पनि गोल फर्काउन सकेन । खेलको दोस्रो हाप ८७ औं मिनेटमा भारतकी मनिषाले टोलीका लागि चौंथो गोल गरेकी गरिन् । उनको गोलको खुसी नसकिँदै भारतकै अर्का खेलाडी जगमानीले ८८ औं मिनेटमा पाँचौं गोल गर्दै टिमलाई अग्रता दिलाइन् ।
५–० को फराकिलो अन्तरले पछि रहेको माल्दिभ्सले अतिरिक्त ४ मिनेट थपिएको थियो । तर, अतिरिक्त समयमा पनि गोल फर्काउन नसकेपछि माल्दिभ्सले पहिलो खेलमा हार व्यहोरेको छ ।