काठमाडौँ तँ गाली होइन ताली खोज् !

काठमाडौँ तँ गाली होइन ताली खोज् !

कपनअनलाइन

काठमाडौं, मंसिर १५। त्रिलोचन आचार्य/ कविता

काठमाडौँ तँलाई गाली गरेकोमा
मेरो चित्त बुझेको छैन
तँलाई साला पाजी भनेकोमा
मेरो सहमति छैन
खेत मासेर पनि तैँले
लाखौँलाई बास दिएकै छस्
पाहुनाले पहिले माग्ने बास त हो
अनि मात्र गाँस र कपास हो
भोकको अगाडि महँगी के हो र ?
मागेर भए पनि यहाँ पसेकालाई
तैँले गाँस दिएकै छस्
सक्नेलाई महँगो र नसक्नेलाई सस्तो त हो
युरोप अमेरिकाकै किन चाहियो र
खासाकै भए पनि कपास दिएकै छस्
त्यसैले काठमाडौँ तँ गरिब होइन धनी होस्
काठमाडौँ तँ गाली होइन ताली खोज् ।

देख्नेहरूले काठमाडौँमा
हवेली र आलिसान महलमात्र देखे
पाँचतारे बोर्डिंङ्ग र कलेज मात्र देखे
क्यासिनो र रात्री क्लब मात्र देखे
ब्युटिपार्लर र रिकन्डिसन अनुहार मात्र देखे
र अकर्मण्य घरज्वांई जस्तो
कुनै दायित्व र जिम्मेवारी नभएको देखे
तर त्यसो होइन माठमाडौँ
हामीले देखेका छौँ यहाँ
चिन्तनशील अध्यात्मज्ञानवालाहरू पनि
निरन्तर उपचाररत स्वास्थ्यहालाहरू पनि
निरन्तर अध्यापनरत पाठशालाहरू पनि
श्रमसीपको पूजा गर्ने कार्यशालाहरू पनि
हिमाल पहाड तराईका प्राकृतिक रंगशालाहरू पनि

हो, यहाँको हाँसो कतै कतै ब्यावसायिक पनि छ
तर बहुसंख्यकको हाँसो आत्मीय र प्रेरणादायक छ
त्यसैले काठमाडौँ तँ एउटा विशाल समुद्र होस्
जसको पीँधमा मोती नै मोती छ
जसको आँखामा ज्योति नै ज्योति छ
त्यसैले काठमाडौँ तँ हीनताबोध होइन उत्साह रोज्
काठमाडौँ तँ गाली होइन ताली खोज् ।

काठमाडौँ तँ देशको राजधानी होस्
तैँले आपूmलाई मात्र होइन अरूलाई पनि हेर्नु पर्छ
तैँले आफ्नो मात्र होइन अरूको पनि मुहार फेर्नु पर्छ
कालापानी दुखे पनि काठमाडौँमा जुलुस
नालापानी दुखे पनि काठमाडौँमा जुलुस
ताप्लेजुंग तड्पिए पनि काठमाडौँमा जुलुस
दार्चुला दंगिए पनि काठमाडौँमा जुलुस
धन्न विचलित भएको छैन यो काठमाडौँ
धन्न डिप्रेसनमा परेको छैन यो काठमाडौँ
अलिअलि मोटाएका आएर बसेका छन् र अझै शोषण गर्छन्
अलिअलि भोकाएका पसेका छन् र अझै बजेट चोर्छन्
दुुईचार थान ड्यामेज आइटमले
सिङ्गै कारखानाको प्रतिनिधित्व गर्दैन
दुइचारवटा नाभो बोटले
सम्पूर्ण खेतको कमाई घट्दैन
होलान् केही केही रगत लत्पतिएका हात पनि
होलान् कुनै कुनै त्रासदीपूर्ण भयङ्कर रात पनि
तर यसले उनान्सय सत्यलाई गलाउँदैन
जति नै उल्टो अर्थ लगाए पनि
पुच्छरले कुकुर हल्लाउदैन ।
त्यसैले देखाइदिनुपर्छ, काठमाडौँ तैले
विकासका ठूला ठूला आँकडाहरू
न्याय निसाफका बडे बडे निणर्यहरू
परिवर्तनका लागि गरिएका ठूला ठूला आन्दोलनहरू
एकता र भाइचारा बढाउन भएका ठूला ठूला सम्मेलनहरू
काठमाडौँ तँ फोहरको निशानी होइन
थुप्रै सम्भावना बोकेको मिर्मिरे बिहानी होस्
त्यसैले काठमाडौँ तँ घमण्डको बङ्गला होइन
श्रम, सीप र पसिनाको छाप्रो रोज्
काठमाडौँ तँ गाली हाइन ताली खोज्

काठमाडौँ तैँले मागेर पनि बजेट बनाएकै छस्
तानतुन गरेर पनि संसदमा बहुमत जुटाएकै छस्
मातिएकालाई तल खसाएकै छस्
आतिएकालाई काख बसाएकै छस्
बेइमानीहरूको रङ्गशाला होइन काठमाडौँ
श्रमशीलहरूको कार्यशाला होस्
सुटेडबुटेड सुकुगुन्डा प्रवृत्ति मात्र होइन काठमाडौँ
साधुसन्त, सज्जन र सङ्घर्षशीलको लय पनि होस्
पवित्र बागमती र विष्णुमतिमा फोहोर बग्दा पनि
सहेर बस्ने काठमाडौँ
युवाहरूलाई भिसा दिलाउँदै रेमिट्यान्स भित्र्याउने काठमाडौँ
कीर्तिमानधारीहरूसँग बधाईको हात मिलाउने काठमाडौँ ।
पशुपति आदर्श रोज्छ, बालाजु प्रकृति खोज्छ
टुँडिखेल आवाज उचाल्छ, सिंहदरबार सुशासन कोरल्छ
स्वयम्भू बुद्धत्व बर्साउँछ, हनुमानढोका इतिहास पढाउँछ
सहिदढोका बलिदानको कथा दोहो¥याउँछ
वीर अस्पताल मानवताको हात बढाउँदै
घाउमा मलमपट्टी लगाउँछ
गहिरिएर हेरे काठमाडौँ तँ आस्थाको धरोहर होस्
काठमाडौँ तँ ब्यङग्य होइन आत्मीयता र सकारात्मकता रोज्
काठमाडौँ तँ गाली होइन ताली खोज् ।

काठमाडौँ तँ मिहिनेती छस्
मेची महाकाली एकताको सूत्रमा बाध्ँन
नयाँ रणनीति कोर्दैछस्
जहाँबाट आए पनि
ससम्मान सिंहदरबारको साँचो दिएकै छस्
जसो गरी पढाए पनि राष्ट्रियताको रट लगाएकै छस्
ठूला ठूला नेता चाहिए काठमाडौँ
ठूला ठूला डाक्टर चहिए काठमाडौँ
नोट चाहिए काठमाडौ, कोट चाहिए काठमाडौ
भोट चाहिए काठमाडौँ
मानौँ काठमाडौँ कल्पबृष हो जे पनि फल्ने
मानौँ काठमाडौँ चिनी हो जहाँ पनि घुल्ने
तेरो अनुहार हेरेर टाढाटाढाकाले आफ्नो अनुहार बनाउँछन्
तेरो ब्यवहार हेरेर टाढाटाढाकाले आफ्नो ब्यवहार बनाउँछन्
तँलाई हेर्न मात्र पाउने धोको राखेका पनि कति छन् कति
तेरो काखमा टाउको ओताउन पाए कति सम्झन्छन् उन्नति ।
हो हुन त भीम मल्लकी पत्नीले कसैको भलो नहोस् भनेको पनि
लोकलाज सहन नसकेर भीमसेनले विष सुक्र्याएको पनि
ती इतिहासका काला दाग
जनताका पसिना र बलिदानले पखालेको पनि त सत्य हो
दरबारमा बसी षड्यन्त्रका तानावाना बुन्ने
परिवारवादलाई तल खसालेको पनि त सत्य हो
त्यसैले काठमाडौँ तँ केही होइन भन्दा पनि धेरै होस्
काठमाडौँ तँ घृणा होइन माया ममता रोज्
काठमाडौँ तँ गाली होइन ताली खोज् ।

तपाइँको प्रतिक्रिया ।