पूर्व क्षेत्रीय विद्यालय समितिमा डोरप्रसाद आचार्य
कपन अनलाइनबद्रि भट्टराई
सामुदायिक विद्यालयहरुको पूर्व क्षेत्रीय समितिको पाँचौ साधारण कपनको मिलनचोक पार्टी भेन्युमा सम्पन्न भएको छ । काठमाडौं जिल्ला शिक्षा अधिकारी बैकुण्ठ अर्यालको प्रमुख आतिथ्य तथा नर्मदा पोखरेलको सभापतित्वमा सम्पन्न पाँचौ सधारणसभाले बालउद्धार उच्च मा.वि.का डोरप्रसाद आचार्यको अध्यक्षतामा ११ सदस्यीय समितिलाई सर्वसम्मत रुपमा आगामी दुई वर्षे कार्यकालका लागि चयन गरेको छ ।
क्षेत्रिय विद्यालय समितिले पूर्व भेगमा रहेका ३७ सामुदायिक विद्यालयका १०,९५० विद्यार्थी र ५५० शिक्षकहरुको प्रतिनिधित्व गर्नेछ । नवनिर्वाचित अध्यक्ष आचार्यले आफ्नो कार्यकालमा सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तरलाई अझ प्रभावकारी बनाउने शिक्षक तथा विद्यार्थीका लागि आवश्यक शैक्षिक तथा अतिरिक्त क्रियाकलापको आयोजना गर्ने, गुणस्तरीय मुल्याङ्गकन पद्धतिलाई विकास गर्दै लैजाने प्रतिवद्धता व्यक्त गरेको थिए । उनले क्षेत्रिय विद्यालय समितिले आगमी कार्यकालमा सबै पक्षको राय सल्लाहतथा सुझावलाई आत्मासात् गर्दै अघि बढ्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।
निर्वाचित कार्य समितिमा कपन गाविसको सामुदायिक विद्यालयहरुमध्ये उत्कृष्ट विद्यालयको रुपमा परिचित यज्ञमती मा.वि. का प्रधान अध्यापक मुकुन्द बुढाथोकी कोषाध्यक्षमा निर्वाचित भएका छन् । समितिका अन्य पदाधिकारीहरुमा उपाध्यक्ष कान्छाबाबु महर्जन, सचिव नारायण पौडेल, सह–सचिव कुमारी कमला राई, र सदस्यहरुमा मेघराज बन्जारा, गिता सिंखडा, किरण गौतम, विष्णुकाजी श्रेष्ठ, कृष्णराज कट्टेल, बालकृष्ण रेग्मी चयन भएका छन् ।