अमेरिकाको म्याडिसनमा साहित्य साँझ भव्यताका साथ सम्पन्न

अमेरिकाको म्याडिसनमा साहित्य साँझ भव्यताका साथ सम्पन्न

कपन अनलाइन

अमेरिका कार्तिक २५। संयुक्त राज्य अमेरिकाको विस्कन्सिन राज्यस्थित म्याडिसन शहरमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको १११औँ जन्म जयन्तीको अवसर पारेर कविता प्रतियोगिता कार्यक्रम “नाफा साहित्य साँझ २०७६”सम्पन्न गरिएको छ । नेपाली अमेरिकन मैत्री सङ्घ(नाफा)ले आयोजना गरेको उक्त कार्यक्रमको सभापतित्व अविमन पसछेंले  गरेका थिए  । कार्यक्रमकी प्रमुख अतिथि मदन पुरस्कार एवम् पद्मश्री पुरस्कारबाट अलङ्कृत नेपाली साहित्यकी एक नारी हस्ताक्षर उपन्यासकार नीलम कार्की निहारिका तथा नाफाका शिक्षा तथा संस्कृति संरक्षण समिति संयोजक दिनार ‘रनादी’ रहेकी थिइन्  ।

उक्त कार्यक्रम मञ्चमा आसिन व्यक्तित्वहरुबाट संयुक्तरूपमा दीप प्रज्वलन गरी समुद्घाटन भएको थियो । सो सभालाई स्वागत सम्बोधन गर्दै साहित्यकार दिनार ‘रनादी’ले उक्त कार्यक्रमको ईतिहास र वर्तमानको अवस्था बारे प्रकाश पारेकी थिईन। कार्यक्रमका संयोजक तथा सञ्चालक मित्र पौडेलद्वारा महाकवि देवकोटाका कविता बाचनसँगै कार्यक्रम शुरुवात भएको थियो । बालबालिकाकातर्फबाट प्रसुन गुरागाईंले कार्यक्रम सञ्चालन र बाल साहित्य संयोजन निकिता मिश्र पाण्डेयले गरेका थिए  । “नाफा विजय मल्ल साहित्य पुरस्कार” प्रतियोगताका लागि पुरस्कार प्रायोजक विजय मल्लकी सुपुत्री वन्दना मल्ल तथा कृष्णदास मल्लका स्‍मृतिमा स्थापित “नाफा बाल साहित्य पुरस्कार”का प्रायोजकका तर्फबाट सुपुत्र नारायणदास मल्लले पुरस्कार स्थापनाको औचित्य र प्रयोजनबारे आफ्नो धारणा  राखेका  थिए ।

“बिजय मल्ल साहित्य पुरस्कार” प्रतियोगितामा भाग लिनुहुने कवि तथा कवयित्रीहरुमा अप्सरा गिरी भारती, अर्चना धाख्वा, विन्दु तिमिल्सिना, दीपक पौडेल, कल्पना रिजाल, एल. के गुरूङ, निकिता मिश्र पाण्डेय, लेखनाथ काफ्ले, पुर्ण श्रेष्ठ, प्रदिप के.सी, रोशा पोखरेल, शर्मिला पोखरेल र सुष्मा श्रेष्ठद्वारा कविता बाचन भएको थियो। बाल बालिकातर्फबाट आन्या पाण्डेय, अनित्या द्वा, आरूस सुवेदी, ऐरिना उप्रेती, आर्या लामिछाने, वेलिस्मा श्रेष्ठ, जुना रिजाल, काव्या लामिछाने, खुशी श्रेष्ठ, ओजस्वि पसछें, ओपल शर्मा, प्रियाशा गुरागाईं, पुरन बराल, स्मारिका पनेरू तथा युजेन थापाद्वारा कविता बाचन भएको थियो।

त्यसका साथसाथै अप्रतियोगि कवि तथा कवयित्रीहरुमा राजेन्द्र अर्याल, अविमन पसछें, सीता अर्याल, सन्तोषी भण्डारी, अर्जुन खड्का, सन्तोष लामिछाने, नरेन्द्र थापा एवं कर्मपथ अर्यालबाट कविता बाचन भएको थियो। “बिजय मल्ल साहित्य पुरस्कार”का लागि प्रतियोगी मध्यबाट पूर्ण श्रेष्ठले प्रथम स्थान, विन्दु तिमिल्सिनाले दोश्रो स्थान र अप्सरा गिरी भारतीले तेश्रो स्थान हासिल  गरेका थिए । सहभागि प्रतियोगी सबैलाई नगद र प्रमाणपत्र प्रदान गरिएको थियो। उक्त प्रतियोगितात्मक कार्यक्रममा निर्णायकको भूमिकामा नेपालबाट प्रा.डा. कृष्णहरि बराल, महेश पौड्याल तथा विमला तुम्खेवा  रहेका थिए  भने आन्तरिक निर्णायकको रूपमा श्रीधर रानाभाट, सीता अर्याल तथा पटना ताम्राकार  रहेका थिए ।

उक्त समारोहबीच प्रमुख अतिथिको करकमलबाट कवि तथा लेखक आविष्कार भारतीकृत् “टुसाएको गगन” हाइकु कृति नेपाल र अमेरिकाबाट एकैदिन लोकार्पण भएको थियो  । कार्यक्रममा दर्शकदीर्घाबाट क्रम रहित भएर बिमोचनपूर्व हाइकुकारका मन परेका दस हाइकु दर्शकले वाचन गरेका थिए । सो समारोहमा बोल्दै निलम कार्की निहारिकाले महाकवि लक्ष्मीप्रसाद देवकोटा तथा विजय मल्लले नेपाली साहित्यमा दिएको योगदान र तिनको जीवनीका बारेमा प्रष्ट पारेकी थिइन् । उक्त कार्यक्रममा “नाफा लाइफ टाइम एचिभमेन्ट अवार्ड” श्री कृष्ण प्रधान तथा उनकी धर्मपत्नी श्रीमती विष्णु प्रधानलाई प्रदान गरिएको थियो ।

यसैगरी “सगरमाथा प्रज्ञा पुरस्कार” अमेरिकामा नेपाली वालवालिकालाई नेपाली भाषा, शिक्षा तथा संस्कृति जगेर्नामा योगदान पुर्‍याएको वापत अर्चना धाख्वालाई प्रदान गरिएको थियो । यसैगरी रेन्युएबल एनर्जी ग्रुप द्वारा प्रायोजित “नाफा छात्रवृत्ति २०१९”का संयोजन पर्वत रेग्मीले गरेका थिए  । उक्त रकम र प्रमाणपत्र रेन्युएबल एनर्जी ग्रुपका तर्फबाट नम्रता डंगोल र ठाकुर पनेरुबाट प्रसुन गुरागाईं तथा अर्हत द्वालाई प्रदान गरिएको थियो । कार्यक्रममा नाफाका सबै पूर्व अध्यक्षहरु कृष्ण सिजापती, श्रीधर रानाभाट, अयोध्या बाटाजू, पूर्ण श्रेष्ठ तथा सन्तोष लामिछाने लगायत लगभग सयजना साहित्यप्रेमी श्रोताहरूको बाक्लो उपस्थिती थियो । यस कार्यक्रमलाई ईनेपलिज डट कमले फेसबुक मार्फत प्रत्यक्ष प्रसारण गरेको थियो । सो समारोह दिउँसो २ बजेदेखि प्रारम्भ भई ७:३०बजे  सम्म चलेको थियो।

फोटो : सूर्य चापागाईं

तपाइँको प्रतिक्रिया ।