उपत्यकाभित्र आठ आनाभन्दा कम जग्गा नक्शापास नगर्न विकास प्राधिकरणको निर्देशन

उपत्यकाभित्र आठ आनाभन्दा कम जग्गा नक्शापास नगर्न विकास प्राधिकरणको निर्देशन

कपनअनलाइन

काठमाडौं,कार्तिक २१। उपत्यका विकास प्राधिकरणले काठमाडौं उपत्यकाका चार ठाउँमा आठ आनाभन्दा कम जग्गा किनबेच र नक्शापास नगर्न भनेको छ ।

नयाँ शहर बसाल्न र व्यवस्थित गर्न ‘स्याटेलाइट सिटी’ निर्माणको योजना बनिरहेकोले उपत्यकाका चार दिशामा पर्ने झण्डै एक लाख ३० हजार रोपनी जग्गा किनबेच गर्दा आठआना भन्दा कम किनबेच नगर्न र नक्शापास नगर्न भनेको हो ।चार शहरमध्ये ‘इशान’ शहर बन्ने क्षेत्र भक्तपुरको नगरकोट जाने सडक, तेलकोट सडक, जोरपाटी, क्रिकेट मैदान, मूलपानी, गोठाटार, मनोहरा पुल, साँखु बजार र साँखु जाने मूल सडकभित्रको जग्गा रहेको छ।

दोश्रो ‘आग्नेय’ शहर भक्तपुरको सूर्यविनायक चोक, खहरे खोला, बालकोट, बिरुवा, पानी ट्यांकी, बालकोट, अमरनगर, थिमी हुँदै अरनिको राजमार्ग, सिलामखाल, रानीकोट , अनन्तलिंगेश्वर फेदी, तर्खगाल, पात्लेटार, बिरुवा हुँदै खहरेसम्म भित्रको जग्गामा बन्ने छ ।

‘उत्तर’ नामाकरण गरिएको तेश्रो शहर सामाखुसी, टोखा सडक, बाइपास, काभ्रेस्थलीदेखि बाइपास आउने मूल सडक, सपनतीर्थ मालुङ हुँदै काभ्रेस्थलीको बाटो, ग्रिननल्यान्ड चोक हुँदै महादेवखोला काभ्रेस्थली मूल सडक भित्र बन्ने छ ।

चाैंथाे शहरका रुपमा प्रस्तािवित ‘नैऋत्य’ शहर ललितपुरमा पर्छ । खोकना, बुङमति, छम्पी जाने बाटो, वागमती नदीको किनार हुँदै सैँबुसम्मको क्षेत्रफलमा फैलने छ ।

निर्धारीत क्षेत्रमा ८ आनाभन्दा कम जग्गाको कित्ताकाटमा रोक लगाएको सरकारले नयाँ भवन निर्माणको अनुमति पनि नदिन भनेपनि स्थानीय तहहरुले त्यसको पालना नगरी धमाधम सिफारीस दिएकाेले सर्वसाधारणलाई सचेत हुन प्राधिकरणले सूचित गरेकाे छ ।

उत्तर बाहेक अन्य शहरको बिस्तृत परियोजना प्रतिवेदन(डीपीआर) निर्माण भइसकेकोले सबैको डीपीआर प्राप्त भएपछि योजनावद्ध शहर निर्माणका लागि निर्णय गरेर स्थानीयको जग्गा एकीकरण गर्ने काम गरिने प्राधिकरणले जनाएको छ ।

तपाइँको प्रतिक्रिया ।