‘कालापानीमा बसेको भारतीय सेना हट्नुपर्छ’: डा. राजन भट्टराई

‘कालापानीमा बसेको भारतीय सेना हट्नुपर्छ’: डा. राजन भट्टराई

कपनअनलाइन

काठमाडौं,कार्तिक २० । प्रधानमन्त्री केपी ओलीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले कालापानी र लिपुलेक नेपाली भू-भाग भएकाले नेपाल सोही मान्यतामा अडिग रहेको बताएका छन्।

राजधानीमा आयोजित एक साक्षात्कारमा बोल्दै भट्टराईले नेपाली भू-भागलाई भारतीय नक्शामा राखेकोमा गम्भीर ध्यानाकार्षण भएको उल्लेख गर्दै यस्तो बताएका हुन्। ‘कालापानी नेपाली भू-भाग हो। ऐतिहासिक तथ्यले पनि त्यही भन्छ। हाम्रो मान्यता पनि यही हो’, रिपोर्टर्स क्लब नेपालले गरेको  साक्षात्कारमा बोल्दै उनले भने, ‘१९६२ देखि त्यहाँ बसेको भारतीय सेना हट्नुपर्छ।’

उनले सीमा विवाद कूटनीतिक टेबुलमा बसेर समाधान गर्नुपर्नेमा जोड दिए। ‘सीमा विवाद कूटनीतिक टेबुलमा बसेर समाधान गर्नुपर्छ भन्ने हाम्रो मान्यता हो’, उनले भने, ‘हामीसँग अर्को विकल्प छैन्।’

यो विषयमा सरकार कूटनीतिक पहल कदमी लिनेबारे सचेत रहेको उनले प्रष्ट पारे। उनले सरकार जीपीएस प्रणालीमार्फत् सीमा व्यवस्थित गर्न गइरहेको बताए। ‘सरकारले यसबारेमा एउटा टोली बनाएको छ’, उनले भने, ‘टोलीले अध्ययन गरिरहेको छ।’

नेपाल र भारतको सीमा खोलाले छुट्याउने गरेको र कहिलेकाहीँ खोलाले बहाव परिवर्तन गर्दा समस्या हुने गरेको उनले सुनाए। ‘कतिपय पिलर हराएका छन्’, उनले भने, ‘जमिन अतिक्रमण भएका छन्।’

उनले नेपाल-भारत प्रबुद्ध व्यक्ति समूह (ईपीजी) मा पनि सीमा विवादको विषय एउटा बुँदामा समेटिएको उनको भनाइ छ। ‘हामीले विस्तृत सुझावसहितको प्रतिवेदन तयार पारेका छौं’, उनले भने, ‘प्रतिवेदन छिटो बुझ्नुपर्छ। यसले दुई देशको सम्बन्धको उतारचढावको समाधानका लागि सुझाव दिएको छ।’

उनले लिपुलेक पनि नेपालकै भएको प्रष्ट पारे। भारत र चीनले लिपुलेकबारे गरेको सहमतिमा नेपालले आफ्नो ‘पोजिशन’ राखिसकेको उनको भनाइ छ।

‘अध्ययन र तथ्यांकको आधारमा लिपुलेक हाम्रो हो’, उनले भने, ‘यसमा हाम्रो दाबी हुन्छ।’

तपाइँको प्रतिक्रिया ।