महानगरीय प्रहरी प्रभाग बलम्बु हाताभित्र दुर्गादेवी मन्दिर भवन स्थापना

महानगरीय प्रहरी प्रभाग बलम्बु हाताभित्र  दुर्गादेवी मन्दिर भवन स्थापना
कपनअनलाइन
काठमाडौँ, कार्तिक १७ । महानगरीय प्रहरी प्रभाग, बलम्बुको हाताभित्र समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत दुर्गादेवी मन्दिर भवन स्थापना गरिएको छ । चन्द्रागिरी नगरपालिका वडा नं १२ निवासी समाजसेवी शान्ति श्रेष्ठले आफ्ना स्वर्गीय पति रामदास श्रेष्ठको स्मृतीमा करिव रु दशलाखमा सो मन्दिर निर्माण गरिदिएकी हुन् ।
चन्द्रागिरी नगरपालिकाका प्रमुख घनश्याम गिरी र काठमाडौं प्रहरी परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले संयुक्त रुपमा  यहाँ आयोजित कार्यक्रममा मन्दिर उद्घाटन गरे । नगरप्रमुख गिरीले अगामी वर्षदेखि नगरपालिकाले आफ्नै नगर प्रहरीकोे व्यवस्था गर्न लागेको जानकारी दिँदै काठमाडौं प्रदेशद्वारको रुपमा रहेको नागढुङ्गा कलङ्की सडककोे सौन्दर्य विकासमा जोड दिएको वताए । उनले भने “ नागढुङ्गा कलङ्की सडकमा गुड्ने सार्वजानिक यातायातबाट फोहर फाल्न प्रतिवन्ध लगाएका छौँ । ” नगरको शान्ति सुरक्षा कायम गर्न तथा मादक पदार्थ,लागू पदार्थ नियन्त्रण गर्न नेपाल प्रहरीलाई नगरपालिकाले सहयोग गर्दै आएको जानकारी दिँदै जनप्रतिनिधिबाट प्रहरीलाई भनसुन, सिफारिस गर्ने कार्य नगरिएको स्पष्ट पारे ।
प्रहरी परिसरका प्रमुख सुवेदीले विगत वर्षहरुका तुलनामा यस वर्ष काठमाडौं उपत्यकाको शान्ति सुरक्षाको अवस्थामा सुधार आएकोे चर्चा गर्दै लागू पदार्थ तथा मादक पदार्थ सेवनका कारण उत्पन्न हुने घटनाको तुलनामा सामाजिक सञ्जालले विकृति वढाएको बताए। उनले भने “समृद्ध नेपाल ,सुखी नेपाली बनाउने लक्ष्यलाई पुरा गर्न सभ्य,शान्त र सुरक्षित समाज निर्माण गर्नुपर्छ । यस कार्यमा नेपाल प्रहरी लगिरहेको छ । ”
सो अवसरमा नगरप्रमुख गिरी र प्रमुख सुवेदीले समाजसेवी शान्ति श्रेष्ठलाई सम्मान समेत गरेका थिए। चन्द्रागिरी नगरपालिका वडा ११का वडाध्यक्ष एवम् चन्द्रागिरी नगरपालिका प्रवक्ता हरिभक्त महर्जनले समृद्ध चन्द्रागिरी नगरपालिका बनाउने अभियानमा एकजुट नगरबासीलाई आह्वान गर्दै भौतिक पूर्वाधार विकास नगरपालिकाले काम गरिराखेको वताए ।
महानगरीय प्रहरी प्रभाग बलम्बुका प्रमुख प्रहरी निरीक्षक शंकर खड्काले समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत दुर्गादेवी मन्दिरको अनावरण गर्न पाउँदा नेपाल प्रहरीलाई खुशीलागेको चर्चा गर्दै समुदाय प्रहरी साझेदारी कार्यक्रम नगरपालिका सबै वडामा सञ्चालन भैराखेको जानकारी दिए । महानगरीय प्रहरी प्रभाग बलम्बुले लागू पदार्थ, मदिरा सेवन, महिला हिंसा , घरेलु मदिरा विक्री वितरणमा रोक , चोरी डकैती नियन्त्रण लगायत कार्यमा घरदैलो कार्यक्रम सञ्चालन गरी सचेतना वढाउँदै आएको छ । मन्दिर अनावरणपछि भगवती मानव कल्याण सङ्गठन नेपाल शाखाले आरती र भजन कीर्तिन गरेको थियो ।

 

तपाइँको प्रतिक्रिया ।