फाइल हराउने समस्याले आक्रान्त बुढानिलकण्ठ नगरपालिका
कपन अनलाइन
काठमाडौं ,कार्तिक ९।
बुढानिलकण्ठ नगरपालिकामा अहिले विभिन्न उपभोक्ता समिति तथा अन्य संघ संस्था द्वारा पेस गरिएका फाइलहरु हराउने गुनासो निकै बढेको छ। नगरपालिकामा प्रक्रिया पुरा गरेर पेस गरिएका फाइलहरु एकाएक हराउदा सेवाग्राहिहरुले निकै समस्या भोग्नु परेको पिडितहरुले गुनासो गर्न थालेका छन ।
मानवीय त्रुटीका कारण कुनै समयमा यस्ता घटना हुदा सामान्य रुपमा लिनुपर्ने भएता पनि शृंखला बद्ध रुपमा यस्ता घटना दोहोरिए पछी यसले गम्भीर समस्याको रुपमा जरा गाडेको चर्चा अहिले नगरपालिकामा चल्न थालेको छ ।यो समस्या बाट सामान्य नागरिक र सेवाग्राही मात्र हैन उपभोक्ता समिति र जनप्रतिनिधिहरुनै पिडित बन्न थालेपछि यो प्रसंग सार्वजनिक भएको हो ।
सबै प्रक्रिया पुरा गरेर पेस गरिएका फाइल हराएर पिडित बनेको एक वडा अध्यक्षले बताए । वडा कार्यालय बाट सबै कागजात पुरा गरेर आफै फाइल लिएर पेस गरेको तर पछी जादा उक्त फाइल हराएको देख्दा आफु आश्चर्यमा परेको ति वडा अध्यक्षको भनाइ रहेको थियो। उनले आफुले नगरपालिकामा गएर कर्मचारीको टेवल ठटाए पछी फाइल भेटिएको प्रसंग उल्लेख गर्दै वडा अध्यक्ष जस्तो जनताको प्रतिनिधि त् यसरि पिडित बन्दा सामान्य नागरिकको अवस्था कस्तो होला भन्दै दुख व्यक्त गरेका छन ।
जन प्रतिनिधि मात्र हैन यो समस्या बाट स्वयं कर्मचारी पनि पिडित बनेको एक कर्मचारीले नाम उल्लेख नगर्ने शर्तमा कपन अनलाइनलाई बताएकी छन ।उनले नगरपालिकामा कर्मचारी नै पिडित बन्नुपर्ने दुखदायी अवस्था रहेको भन्दै यसको निराकरणको उपाय समयमै नखोजे यसले गम्भीर प्रवृतिको रुपमा जरा गाड्ने र नगरपालिकाको सुशासनमा असर पर्ने धारणा राखेकी छन ।
बुढानिलकण्ठ नगरपालिकामा यस प्रवृति बाट सबै भन्दा बढी पिडित उपभोक्ता समिति रहेका छन । आफ्नो कार्य सम्पन्न भए पश्चात वा काम हुनु भन्दा अगाडी पेस गरिएका कार्ययोजनाको फाइल नै हराएका धेरै उदाहरण रहेको एक उपभोक्ता समितिका अध्यक्षले बताए । समितिले आफुले गर्ने कार्ययोजना सहित पेस गरेको फाइल सम्झौता गर्न जादा नभेटिएकोले सम्पूर्ण योजना नै पछाडी धकेलिएको तितो अनुभव बटुलेको भन्दै यस विषयमा नगरपालिकाले गम्भीर छानविन गर्नु पर्ने ति अध्यक्षको धारणा रहेको थियो ।
त्यस्तै यस समस्या बाट पिडित अर्का पक्ष भनेको ठेकेदारहरु रहेका छन । ठेकेदारहरुले काम सम्पन्न गरेर अनुगमन पश्चात पेस गरेका फाइल हराउने तथा कहिले काही फाइल भित्रका बिल समेत झिकिएको अवस्थामा पाइएको एक ठेकेदारले बताए । यसरि भ्याट बिल समेत फाइल भित्र बाट हराउन थाले पछी ठेकेदारहरु निकै समस्यामा परेको तर आफ्नो काम नहुने डरले कोहि बोल्न नसकेको एक ठेकेदार बताउछन ।
माथि उल्लेखित पिडित पक्ष मात्र हैन बुढानिलकण्ठ नगरपालिकामा कर्मचारीहरुको चरम लापरवाही र हेलचेक्राइका कारण पिडित बन्नेको शंख्या निकै ठुलो रहेको छ तर काम नहुने वा ढिलो हुने डरले खोइ बोल्न नसक्ने अवस्थाका कारण यो समस्या दिन दिनै बढ्दै गएको छ ।
साविक गाविस हुदा देखिनै यस नगरपालिकाका विभिन्न वडामा कार्यरत कर्मचारीहरुले नगरपालिकाका आकर्षक र मालदार विभागमा कव्जा जमाएर कतिपय जनप्रतिनिधिलाई समेत आफ्मो प्रभावमा पार्न सफल भएकोले नगर प्रमुखको सुशासनको अनवरत प्रयास आशिक रुपमा मात्र सफल हुन् सकेको नगरपालिकाका एक सल्लाहाकारले बताउछन ।
स्थानीय जनताको सरकार नगरपालिकामा पेस गरिएका फाइल हराएका हुन् वा लुकाइएका हुन् त्यस वारेमा बेलैमा छानविन र खोज हुनुपर्ने देखिन्छ । यदि यस प्रकारको गम्भीर समस्यालाई नजरअन्दाज गर्दै यथास्थितिमा राख्ने हो भने यसले आगामी दिनमा सेवा प्रवाह र प्रसासनिक सुधारमा निकै ठुलो असर पार्ने देखिन्छ ।
बुढानिलकण्ठ नगरपालिकाले यस्तो गम्भीर समस्यामा जिम्मेवार कर्मचारी , सम्बन्धित समिति वा आफ्नै कार्यालय जसरि नगरपालिकामा कव्जा जमाएर बसेका केहि ठेकेदार वा स्वयं जनप्रतिनिधि को हुन् तिनको पहिचान गरेर निराकरण गर्न अविलम्ब पहल गर्नुपर्ने देखिन्छ ।