प्रहरी प्रधान कार्यालयमा सूचनाको हक सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
कपन अनलाइन
काठमाडौं, फागुण १ ।
प्रहरी प्रधान कार्यालयको आयोजना तथा राष्ट्रिय सूचना आयोगको सहकार्यमा प्रहरी प्रधान कार्यालयमा सूचनाको हक सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त कृष्णहरि बास्कोटाले सूचनाको हकको संरक्षण, संवद्र्धन र प्रचलनमा नेपाल प्रहरीको दायित्व बिषयमा आफ्ना धारणा राख्दै संवैधानिक एवं कानुनी व्यवस्थाबारे प्रकाश पार्दै प्रमुख आयुक्त बास्कोटाले सूचना प्रवाहमा नेपाल प्रहरीले आफ्नो दायित्व निर्वाह गर्दै आएको उल्लेख गरे। आगामी दिनमा समेत आपसी समन्वय गर्न आयोग तयार रहेको उनले बताए ।
उक्त अवसरमा आयोगका आयुक्त किरणकुमार पोखरेलले अन्तरक्रियामा उठेका जिज्ञासाहरुको निरुपण गरेका थिए भने कार्यक्रममा आयोगका सूचना आयुक्त यशोदा तिम्सिनाले सूचनाको प्रभावकारिताका बारेमा प्रकाश पारेकी थिइन् ।
सो अवसरमा धन्यबाद मन्तव्य व्यक्त गर्दै प्रहरी महानिरीक्षक प्रकाश अर्यालले सूचना र संचार जगतका प्राज्ञ वक्ताहरुबाट पाएको ज्ञान प्रहरी संगठनका लागि लाभदायक रहेको चर्चा गरे । कानुनी दायरामा रहे मात्र सूचनाको हकमा पारदर्शिता हुने उल्लेख गर्दै प्रहरी महानिरीक्षक अर्यालले राष्ट्रिय सूचना आयोगसँगको सहयात्राले आगामी दिनमा समेत गति लिने बिश्वास व्यक्त गरे।
कार्यक्रममा नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायव महानिरीक्षक मनोज नेउपानेले नागरिकको सूचनाको हकलाई सहजता गर्न नेपाल प्रहरीले गरेका प्रयासका बारेमा प्रस्तुतीकरण गरेका थिए भने प्रहरी प्रधान कार्यालय संचार निर्देशनालयका निर्देशक प्रहरी नायव महानिरीक्षक डा. राजीव सुब्बाले विपदको समयमा नेपाल प्रहरीको सूचना व्यवस्थापन सम्बन्धी प्रस्तुतीकरण गरेका थिए ।
कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरु लगायतका प्रहरी अधिकृतहरुको सहभागिता रहेको थियो ।