प्रदेश ६ः सभामुखमा शाहीको एक्लो उम्मेदवारी

कपन अनलाइन 

सुर्खेत, २८ माघ । प्रदेश नं ६ का सभामुखमा नेकपा(एमाले)का प्रदेशसभा सदस्य राजबहादुर शाहीको एक्लो उम्मेदवारी परेको छ । प्रदेश नं ६ प्रदेशसभा संसद् सचिवालयले आज अपराह्न २ बजेसम्म उम्मेदवारी दिने समय तोकेकामा शाहीको मात्र उम्मेदवारी परेको प्रदेशसभा संसद् सचिवालयका सचिव कृष्णहरि खड्काले जानकारी दिए ।

प्रदेश नं ६ प्रदेशसभा सभामुखमा शाहीको एक्लो उम्मेदवारी परे पनि उनको उम्मेदवारी सोमबार अपराह्न १ बजे बस्ने प्रदेशसभा संसद्को बैठकमा निर्णयार्थ पेश हुने निर्वाचन अधिकृत तथा ६ नं प्रदेशसभा संसद् सचिवालयका सचिव खड्काले बताए । सभामुखको उम्मेदवारीका बारेमा आजै दावी विरोधको समय तोकिएको संसद् सचिवालयले जनाएको छ ।

वाम गठबन्धनका तर्फबाट एमालेबाट प्रस्तावित दैलेख २ (क) का सांसद शाहीलाई नेकपा (माओवादी केन्द्र) ले समर्थन गरेको छ । प्रदेश नं ६ मा नेपाली काँग्रेसका तर्फबाट सभामुखमा उम्मेदवारी नदिइने निर्णय भएको काँग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले बताए।

शाहीको उम्मेदवारीमा एमाले पोलिटब्यूरो सदस्य तथा सल्यानका प्रदेशसभा सदस्य प्रकाश ज्वाला प्रस्तावक र माओवादी केन्द्र स्थायी समिति सदस्य तथा माओवादी संसदीय दलका नेता महेन्द्रबहादुर शाही समर्थक रहेका छन ।

प्रदेश नं ६ मा माओवादी केन्द्रको नेतृत्वमा प्रदेश सरकार गठन हुने र प्रदेशको सभामुख एमालेले लिने वाम गठबन्धनबीच सहमति भएको थियो। माओवादी केन्द्रको संसदीय दलको बैठकले पार्टीका स्थायी समिति सदस्य तथा कालीकोटबाट प्रदेशसभा सदस्यमा निर्वाचित महेन्द्रबहादुरलाई मुख्यमन्त्री बनाउने गरी दलको नेतामा चयन गरिसकेको छ ।

सभामुखमा उम्मेदवारी दिएका महेन्द्रबहादुरका पक्षमा ३४ सांसदको समर्थन छ । सो प्रदेशमा एमालेका २०, माओवादी केन्द्रका १३, काँग्रेसका छ र राप्रपाका एक गरी ४० सांसद छन् ।

तपाइँको प्रतिक्रिया ।