प्रजातन्त्र दिवस समारोहमा उपत्यकाका सबै नगरपालिकालाई सहभागी गराइने
कपन अनलाइन
काठमाडौ,माघ २७।
फागुन ७ गते मनाइने प्रजातन्त्र दिवसको मूल कार्यक्रममा सहभागी हुन काठमाडौ उपत्यकाका स्थानीय तहलाई आमन्त्रण गरिने महानगरका प्रमुख एवं प्रजातन्त्र दिवस व्यवस्थापन उपसमितिका संयोजक विद्यासुन्दर शाक्यले बताउनु भएको छ । शुक्रबार महानगरको कार्यकक्षमा सम्पन्न उपसमितिको वैठकमा बोल्दै सयोजक शाक्यले स्थानीय सरकारका जनप्रतिनिधिलाई सांस्कृतिक झाँकीसहितको सहभागिता हुन आग्रह गरिने बताए ।
महानगरले यस बर्षको प्रजातन्त्र दिवसका अवसरमा टुँडिखेलमा शौचालय व्यवस्थापन, सजावटकालागि गमला, फूललगायतका सामाग्री खरिद गर्न नेपाली सेनालाई ५० हजार रुपैयाँ उपलब्ध गराउने छ । त्यस्तै टुँडिखेलको सरसफाइ महानगरको वातावरण व्यवस्थापन विभागले गर्नेछ । यसका साथै कार्यक्रम स्थलमा खानेपानीको व्यवस्थापन, सहरभरिको सफाइ, कार्यक्रम स्थलमा कुर्सीको व्यवस्था, हेलिकप्टरबाट गरिने पुष्प वृष्टिकालागि फूल र प्रदर्शन गरिने ६८ औं प्रजातन्त्र दिवस लेखिएको व्यानर महानगरले नेपाली सेनालाई उपलब्ध गराउने छ ।
यस बर्षको प्रजातन्त्र दिवसका मनाउन प्रधानमन्त्री शेरबहादुर देउवाको संयोजकत्वमा २४ सदस्यीय मुल समारोह गठन गरिउको छ भने सूचना तथा सञ्चार मन्त्ती मोहनबहादुर बस्नेतको संयोजकत्वमा २२ सदस्यीय प्रचार प्रसार उपसमिति गठन गरिएको छ । त्यस्तै महानगरका प्रमुख विद्यासुन्दर शाक्यको संयोजकत्वमा मञ्च सजावट तथा व्यवस्था उपसमिति र काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्माको संयोजकत्वमा १३ सदस्यीय ग्राउण्ड, कवाज, व्यायाम, व्यवस्थापन समन्वय उपसमिति गठन गरिएको छ ।
प्रजातन्त्र दिवसका अवसरमा प्रभात फेरी, प्रवचन गोष्ठी, साहित्यिक गोष्ठी, सरसफाइ, झाँकी प्रदर्शन, दीपावलीलगायतका कार्यक्रम देश विदेश सवैतिर गरिने तथा काठमाडौंको टुँडिखेलमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानन्यायाधीश, सुरक्षा निकायका प्रमुखहरुसहितको सहभागितामा मूल कार्यक्रम गरिने कार्यक्रम छ ।
समाचार /फोटो सौजन्य :काठमाडौं अनलाइन (चन्द्रमणी भट्टराई )