पखालाका कारण तीन महिनाकी बालिकाको मृत्यु
कपन अनलाइन
रुकुम, २३ माघ । रुकुम पूर्वमा तीन महिनाकी एक बालिकाको पखालाका कारण मृत्यु भएको छ । जिल्लाको पुथाउत्तरगंगा गाउँपालिका–१० तकसेराका श्यामबहादुर विककी तीन महिनाकी छोरीको मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालय रुकुम पूर्वले जानकारी दिएको छ ।
केही समय पहिले यहाँ हिमपात भएपछि अत्यधिक चिसोका कारण पाँच दिनसम्म लगतार पखाला चलेर बालिकाको मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालय, रुकुम पूर्वका जनस्वास्थ्य अधिकृत शिव सार्कीले जानकारी दिए । बालिकाको गत आइतबार साँझ मृत्यु भएको भए पनि दुर्गम ठाउँ भएकाले ढिला गरेर सूचना आएको उनको भनाइ छ ।
चिसोका कारण अहिले पनि गाउँपालिका–१० को तकसेरामा धेरै जसो मानिसमा कोल्ड डायरियाको समस्या रहेको जनस्वास्थ्य अधिकृत सार्कीले बताए । कोल्ड डायरियाले प्रकोपको रुप नलिएको भएपनि बिरामीको संख्या १५ देखि २० जनासम्म रहेको जानकारी आएको उनको भनाइ छ ।