प्रदेशसभाको पहिलो बैठक बस्दै
कपन अनलाइन
– नारायण न्यौपाने, वासुदेव पौडेल
पोखरा, २२ माघ । पर्यटकीय नगरी पोखरामा प्रदेश नं ४ को ऐतिहासिक प्रथम प्रदेशसभा बैठक आज बस्दैछ । बैठकलाई लक्षित गरी चिटिक्क सिंगारिएको नदीपुरस्थित नगर विकास प्रशिक्षण केन्द्रको सभाकक्षमा बिहान ११ बजेका लागि बैठक बोलाइएको हो ।
प्रदेशसभाका ज्येष्ठ सदस्य जनकलाल श्रेष्ठले अध्यक्षता गर्नुहुने सो बैठकमा संसदीय परम्पराअनुसार शुरुमा प्रदेश प्रमुखले संसद् बैठक आह्वान गरेको सूचना पढिनेछ। त्यस्तै आजको बैठकले आन्तरिक कार्यविधि पारित गर्ने, सभामुखको अनुपस्थितिमा अध्यक्षता गर्ने व्यक्तिको अध्यक्षमण्डल चयन गर्ने कार्यक्रम रहेको संसद् सचिवालयका सहसचिव जीवराज बुढाथोकीले जानकारी दिए ।
आजको बैठकमा प्रत्येक ठूला दलबाट तीन÷तीनजना (कम्तीमा एकजना महिलासहित) र साना दलबाट एक÷एकजना गरी ११ जनाले मन्तव्य दिने कार्यक्रम रहेको छ । बैठक करिब एक घण्टा १५ मिनेट हुने अनुमान गरिएको संसद् सचिवालयका सहसचिव बुढाथोकीले बताए । यो प्रदेशमा ११ जिल्लाबाट ३६ प्रत्यक्ष र २४ जना समानुपातिक निर्वाचन प्रणालीबाट चुनिएका ६० जना सांसद छन् ।
जसमध्ये नेकपा (एमाले)का २७, नेपाली काँग्रेसका १५, नेकपा (माओवादी केन्द्र)का १२, जनमोर्चाका तीन, नयाँ शक्तिका दुई र स्वतन्त्र एकजना सांसद छन् । प्रदेशसभाका ६० जना सदस्यमध्ये मनाङ १ (ख)बाट निर्वाचित राजीव गुरुङले भने हालसम्म शपथ लिएको छैन ।
प्रदेशको बैठकलाई लक्षित गर्दै सुरक्षा व्यवस्था कडा पारिएको छ । प्रदेशसभाको सुरक्षाका लागि प्रहरी निरीक्षक लीलाराज लामिछानेको नेतृत्वमा चारजना महिलासहित १६ जना मर्यादापालक खटाइएको छ ।
प्रदेशसभाको बैठकलाई सुव्यवस्थित गर्न आवश्यक जनशक्ति, पूर्वाधार, प्रविधि र सुरक्षाको पूर्ण तयारी भइसकेको संघीय संसद् सचिवालयबाट अनुगमनका लागि आउनुभएका प्रवक्ता भरतराज गौतमले जानकारी दिए । संघीय व्यवस्थाअनुरुप प्रदेश नं ४ को पोखरामा हुन लागेको आजको प्रथम बैठकलाई निकै चासोका साथ हेरिएको छ ।