स्थानीय तहका विवाद टुङ्गो लगाउँदै न्यायिक समिति

स्थानीय तहका विवाद टुङ्गो लगाउँदै न्यायिक समिति

कपन अनलाइन 

बनेपा, १६ माघ । काभ्रेपलाञ्चोक जिल्लाको स्थानीय तहका न्यायिक समितिले आएका विवाद टुङ्गो लगाउन थालेका छन् । जिल्लाका केही नगरपालिकामा औपचारिक रुपमा न्यायिक समिति नबने पनि विवाद निरुपणको काम भएको र गाउँपालिकामा आएका विवाद पनि टुङ्गो लगाउन थालिएको छ ।

पाँचखाल नगरपालिकाकी उपप्रमुख तथा न्यायिक समितिकी संयोजक लक्ष्मी दनुवारले साँध, सिमाना, बहुविवाह, अंशबण्डा, सम्बन्ध विच्छेदलगायतका १५ वटा विवाद दर्ता भएकामा तीमध्ये १० वटा विवादको टुङ्गो लागिसकेको जानकारी दिईन् ।

उनले विवाद निरुपण दुईपक्षीय सहमतिका आधारमा भएको उल्लेख गर्दै नगरपालिकाबाट निरुपण हुन नसकेका विवाद जिल्ला अदालत पठाइएको बताईन् ।हामीले दुई पक्षलाई राखेर सहमति गराउनमै जोड दिँदै आएका छाैँ, सहमति नभए पीडित अदालत जान्छन्, उनले भनिन् ।

स्थानीय तहमा नगरपालिकाका उपप्रमुख तथा गाउँपालिकाका उपाध्यक्षको नेतृत्वमा न्यायिक समिति हुन्छ । धुलिखेल नगरपालिकाका उपप्रमुख विमला शर्माले नगरपालिकामा न्यायिक समिति निर्माणको काम अझै बाँकी रहे पनि झै झगडा, साँध, सिमाना, सम्बन्ध विच्छेद र जग्गा विवादका विवाद टुङ्गो लगाइएको जानकारी दिईन् । उनले भनिन्, ‘न्यायिक काम गरिरहेका छाैँ तर न्यायिक समिति निर्माण भने भएको छैन ।’ उपप्रमुख शर्माले नगरसभाबाट न्यायिक समिति निर्माणको काममा ढिलाइ भएपनि विवाद निरुपणको काम रोकिएको छैन भनिन् ।

भुम्लु गाउँपालिकाका उपाध्यक्ष तथा न्यायिक समितिका संयोजक कल्पना श्रेष्ठले सम्बन्ध विच्छेद, घरेलु हिंसा, साँध–सिमाना, अंशबण्डा लगायतका विवाद तथा आएका र तीमध्ये अधिकांश विवाद टुङ्गो लगाइएको जानकारी दिईन्। उनले भनिन्, ‘स्थानीय तहबाट टुङ्गो लगाउन नसकेका विवाद अदालतमा जान सुझाव दिएका छौँ ।’

संविधानको धारा २१७ मा नगरपालिकाका उपप्रमुख र गाउँपालिकाको उपाध्यक्ष न्यायिक समितिको संयोजक रहने प्रावधान छ । जिल्लामा छ नगरपालिका र सात गाउँपालिकासहित १३ स्थानीय तह छन् ।

तपाइँको प्रतिक्रिया ।