‘२.०’ को रिलिज पोस्टपोन्ड, नेपाली फिल्मलाई ठूलो राहत

‘२.०’ को रिलिज पोस्टपोन्ड, नेपाली फिल्मलाई ठूलो राहत
कपन अनलाइन 
काठमाडौं, १४ माघ । साउथका सुपरस्टार रजनीकान्त र बलिउडका स्टार अक्षय कुमारको फिल्म ‘२.०’ को रिलिज डेट पुनः पोस्टपोन्ड भएको छ । यसअघि बैशाख १ गते अर्थात्, अप्रिल १४ मा प्रदर्शनमा आउने भनिएको यो फिल्म अब २ महिना पछाडि धकलिएको छ ।
भारतको चर्चित अनलाइन ‘बलिउड हंगामा’ ले ‘२.०’ को रिलिज पोस्टपोन्ड भएपनि नयाँ प्रदर्शन मिति कन्फर्म नभएको बताएको छ । उच्च भीएफएक्स प्रविधीका कारण यो फिल्मको आधिकारिक प्रदर्शन मिति तय हुन सकेको छैन । यो फिल्म ब्याक हट्दा नेपाली फिल्मलाई भने अब ठूलो राहत हुने देखिन्छ ।
चैत ३० गते प्रदर्शनमा आउने भनिएको युवा स्टार प्रदीप खड्का अभिनीत फिल्म ‘लिलिबिली’, ‘२.०’ का कारण बैशाख १४ मा पुगेको थियो । तर, हालसालै युट्युबमा सार्वजनिक भएको ‘इज इज लभ ?’ बोलकोे गीतमा फिल्मको प्रदर्शन मिति राखिएको थिएन । यसकारण यो फिल्म अब चैत ३० गते नै प्रदर्शनमा आउन सक्ने प्रवल सम्भावना देखिएको छ ।
‘लिलिबिली’ ले बैशाख १४ छाडे उक्त मिति नायिका केकी अधिकारीका लागि सुखद हुनेछ । किनकी, उनले पहिलो पटक निर्माण गरेको फिल्म ‘कोहलपुर एक्सप्रेस’  बैशाख १४ गतेबाट प्रदर्शनमा आउँदैछ ।
‘२.०’ का कारण ठूला भनिएका नेपाली फिल्मको रिलिज डेट नराम्रोसँग विग्रिएको थियो । अब भने वर्ष २०७५ को नयाँ वर्ष नेपाली फिल्मका लागि बाटो खुल्ला भएको छ । जानकारी रहोस्, चैत ३० गते नायक दयाहाङ राई अभिनीत फिल्म ‘नेप्टे’ प्रदर्शनमा आउँदैछ ।
तपाइँको प्रतिक्रिया ।