बुढानिलकण्ठ नगरमा निजि जग्गा प्लटिंङ र सार्वजनिक सम्पतिको क्षति

बुढानिलकण्ठ नगरमा निजि जग्गा प्लटिंङ र सार्वजनिक सम्पतिको क्षति

कपन अनलाइन 

काठमाडौ,माघ १।

केहि दिन देखि बुढानिलकण्ठ नगरपालिका वडा नं १० मा गरिदै गरेको निजि जग्गा प्लटिंङको विषयले सार्वजनिक चर्चा पाइरहेको छ ।आफ्नो निजि जमिनमा व्यक्तिगत सम्पति खर्च गरेर हुदै गरेको यस प्लटिंङले  ठुलो धनरासी खर्च गरेर मात्र चर्चा पाएको भने होईन।

नेपालको कानुन अनुसार जो कसैले पनि आफ्नो निजि श्रोतमा सरकारको स्वीकृति लिएर यस्ता कामहरु गर्न पाउदछन र गरिरहेका पनि छन ।तर यहाँ चर्चा भएको विषय निजि सम्पतिको प्रयोग संगै सार्वजनिक सम्पतिको दुरुपयोग र क्षति संग पनि जोडिएकोले अहिले सर्वत्र चासोको विषय बनेको छ ।

त्यस स्थानमा भएको निजि प्लटिंङले गर्दा सार्वजनिक सम्पतिको रुपमा रहेको पार्क र स्थानीय खेलाडीहरुले खेल्ने स्थानमा समेत निकै ठुलो असर गरेको छ ।त्यहाका सार्वजनिक जनताका सम्पत्तिहरु बस्ने बेन्च ,बार र अन्य संरचनमा गम्भीर क्षति पुर्याएको छ जसले गर्दा सबैको चासो यसले खिचेको छ ।

नेपालको कानुनले सबै भन्दा पहिला सार्वजनिक सम्पत्तिको संरक्षणलाई महत्व दिन्छ त्यस पश्चात मात्र कुनै पनि निजि सम्पत्ति र संरचनाको निर्माण र विकास गर्न पाइन्छ तर यस स्थानमा यसको ठिक उल्टो भएको छ ।यहाँ निजि प्रयोजनको काम गर्दा सार्वजनिक सम्पतिमा क्षति पुर्याइएको छ।

यहाँ निकै आश्चर्यको विषय त् यसरी सार्वजनिक सम्पत्ति माथि अतिक्रमणको प्रयास भै रहदा र त्यसमा दिन दहाडै क्षती पुगिरहदा एकाध संस्था बाहेक सबै मौन रहेका छन  ।

करिव ५ वटा सामाजिक संस्था र यस क्षेत्रकै महत्वपूर्ण सार्वजनिक सम्पत्तिको  समिपमा जोडिएको यस स्थानमा यस किसिमको गतिविधि चलिरहदा सरोकारवाला पक्षको मौनता र उदासिनताले धेरै प्रश्नहरु जन्माएको छ ।जसको जवाफ पक्कै स्थानियहरुले कुनै दिन खोज्ने नै छन ।

अझ यस प्रकरणमा निकै चासो र चिन्ताको विषय भनेको निजि प्लटिंङको सहजताका लागि सार्वजनिक जग्गा मिलाउने प्रयासले जन्माएको छ ।निकै अनौठो तरिकाले केहि पुराना गलत उदाहरण प्रस्तुत गर्दै निजि फाइदाका लागि जग्गा मिलानको प्रयास हुनु यस अचेत स्थानको बौद्धिक र सामाजिक वृतलाई नै व्यंग्य  बनेको छ ।

यो प्रवृतिले नगरपालिकाका अन्य स्थानमा यसले दरो उदाहरण को रुपमा काम गर्ने छ जुन अन्तत्वगत्वा सार्वजनिक सम्पतिको दुरुपयोगको नमुना बन्नेछ ।

यो गलत कार्य रोक्न प्रयास नभएका हैनन तर तिनको प्रभावकारिता देखिएको छैन ।यस प्रसंगमा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष धुर्वराज न्यौपाने आफुले पहल गरेको तर त्यसको निस्कर्षमा पुग्न नसकिएको बताउछन ।

उनले आफ्नो समितिको र नगरपालिकाको बजेट बाट निर्माण भएको पार्क र मैदानमा क्षति पुग्दा सचेत गराएको तर त्यस प्रति  समबन्धित खासै चासो नदेखाएको बताए ।

त्यस्तै सदाबहार खेलकुद समाजका प्रतिनिधिले पनि सार्वजनिक सम्पत्तिमा निजि प्रयोजनको प्रयोग प्रयास प्रति विरोध गरेको र त्यस प्रति सचेत गराउन जाँदा दुर्व्यवहार प्रयास भएको बताए ।

यस प्रकरणका विविध पाटाहरुको अध्ययन गर्दा केहि प्रश्नहरु जन्मिएका छन जुन प्रश्नको उत्तर सम्बन्धित पक्ष र स्थानीय सरकारले दिनुपर्ने देखिन्छ ।

पहिलो प्रश्न: सो निजि प्लटिंङबाट निस्किएको ठुलो परिणामको बालुवा जिल्ला विकास समितिको स्वीकृति लिएर बिक्रि वितरण भएको छ कि चोरी निकासीको रुपमा निजि तवर बाट भैरहेको छ ?

दोश्रो प्रश्न :सार्वजनिक जग्गा साटफेर गरेर मिलाउने प्रयास भएको चर्चा चलिरहदा त्यो गर्न कुनै कानुनले दिन्छ कि दिदैन ? वा मिलेमतोमा यस्ता गलत कामहरु गर्न प्रयास  गर्नुपर्ने बाध्यता कसरी सृजना गरिदै छ ?

तेश्रो प्रश्न:  यस्तो संबेदनशील विषयमा स्थानीय सरकार किन मौन छ ? स्वयं नगरपालिका प्रमुखले तयार परेको सार्वजनिक जग्गाहरुको प्रतिवेदनमा महत्वपूर्ण सम्पत्तिको रुपमा राखिएको यस स्थानलाई साटफेरको नाममा अतिक्रमण प्रयास हुदा नगरपालिकाले समाधानको पहल कदमी किन लिइरहेको छैन ?

चौथो प्रश्न:  आफ्नो सार्वजनिक सम्पति जुन भावी पुस्ताको लागि एउटा उदाहरण बन्छ त्यसमा सचेत स्थानीय र सामाजिक संघ संस्थाको किन हस्तक्षेपकारी भुमिकाको कमि भैरहेको छ  ? किन एकाध संस्था बाहेकले यस प्रति चासो दिएका छैनन् ?

यस्ता प्रश्नहरुको विचमा यो विषय कुदिरहेको छ जसले यस क्षेत्रको सामाजिक मनोविज्ञानमा निकै नकारात्मक प्रभाव र असर पारिरहेको छ जुन बढ्दै जादा सार्वजनिक सम्पत्ति संरक्षण अभियानमा नै असर पार्ने देखिन्छ ।

यस प्रसंगको अन्त्य गर्नका लागि पहल थाल्न ढिला गर्नु हुदैन किनकी यसले आगामी दिनमा बहुआयामिक असर पार्नेछ जुन पक्कै सरोकारवाला पक्षलाई  हितकर र उचित हुने देखिदैन ।

यसका लागि सार्वजनिक बहस गरेर सार्वजनिक जग्गा र सम्पत्तिको संरक्षणलाई केन्द्रमा राखेर निजि सम्पतिको पनि सुरक्षा गर्ने गरि समाधान निकाल्नु पर्ने देखिन्छ ।अन्यथा यसले व्यापक बहसको सृजना गर्नेछ जसले  कुनै पनि पक्षको लागि सहज वातावरण पक्कै बनाउने छैन ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

तपाइँको प्रतिक्रिया ।