प्रियंका र आर्यनको ‘बटरफ्लाई’ कस्तो चल्यो ?
कपन अनलाइन
काठमाडौँ,पौष ३० । दर्शक र समिक्षकबाट मिश्रित प्रतिक्रिया पाएको फिल्म ‘बटरफ्लाई’ले सुखद ओपनिङ गरेको छ । शुक्रवारबाट प्रदर्शनमा आएको यो वियोगान्त प्रेम बोल्ने फिल्ममा आर्यन अधिकारी र प्रियंका कार्कीसँगै अर्का अभिनेता अर्पण थापाको कामलाई दर्शकले उत्कृष्ट भनेका छन् ।
शुक्रवार फिल्म हेर्ने दर्शकको भीड ठेलमठेल नभएपनि शनिवार सुखद रहेको निर्देशक ओम प्रतिक गुरुङले जानकारी दिए । फिल्मको दुई दिनको कलेक्सन रिपोर्ट बाहिर आएको छैन । निर्माण टिमले रिलिजको दिन (शुक्रबार) देशभर फिल्मको औसत अकुपेन्सी ५० प्रतिशत तथा शनिबार ८० प्रतिशत माथी रहेको बताएको छ ।
‘शनिवार अधिकांश मल्टिप्लेक्स र सिंगल हल हाउसफूल थिए ” जति दर्शकले हेर्नुभएको छ राम्रो भन्नु भएको छ । वर्ड अफ माउथ राम्रो छ माघे संक्रान्तीको बिदामा फिल्मप्रति दर्शकको थप साथ बढ्नेछ ।’ निर्देशक गुरुङले भने । पहिलो पटक एकसाथ काम गरेका आर्यन र प्रियंकाको जोडीलाई दर्शकले मनपराएका छन् ।
एकतर्फी प्रेम गरेको एक युवकले युवतीलाई आफ्नो प्रेम बुझाउन गरेको संघर्षको कथा फिल्मले बोल्छ । पुष्पान्जली अधिकारी (सखा), रामशरण राना र भुपेन्द्र सुवेदी निर्माता रहेको फिल्मका कार्यकारी निर्माता रमेश प्रजापति छन् ।
रविन्द्र खड्का, पुरन थापा, सुष्मा कार्की, सुरविर पण्डित लगायतका कलाकारहरुको पनि फिल्ममा अभिनय रहेको छ । सुरेश बज्रचार्य फिल्मका छायाँकार हुन् ।
तपाइँको प्रतिक्रिया ।