बैङ्किङ सुविधा नहुँदा स्थानीय बासिन्दा समस्यामा

बैङ्किङ सुविधा नहुँदा स्थानीय बासिन्दा समस्यामा

कपन अनलाइन 

बैतडी ,पौष २६।

बैतडीका १० वटा स्थानीय तहमध्ये ७ ओटामा बैङ्किङ सुविधा नहुँदा स्थानीयबासिन्दा समस्यामा परेका छन् । बैंक नहुँदा बैङ्किङ कारोबारका लागि सदरमुकाम धाउनुपर्ने समस्या छ ।

स्थानीय तहले सञ्चालन गर्ने योजना कार्यान्वयनका लागि गठन भएका उपभोक्ता समितिहरु हुन् वा अन्य सरकारी कामकाजका लागि सदरमुकाम पुग्नुपर्ने बाध्यता कायमै रहेको छ ।

गएको असारमै स्थानीय तहमा बैंकहरु आउने हल्ला चलेको भए पनि स्थानीय तहमा बैंक स्थापना भएका छैनन् । पुरचौंडी नगरपालिकामा गएको सातामात्रै ग्लोबल आइएमइ बैंकको शाखा विस्तार भए पनि अन्य सातओटा स्थानीय तहले भने बैङ्किङ कारोबारका लागि सदरमुकाम धाउनुको विकल्प छैन् ।

पञ्चेश्वर गाउँपालिका, शिवनाथ गाउँपालिका, मेलौली नगरपालिका, दोगडाकेदार गाउँपालिका, डिलासैनी गाउँपालिका, सुर्नया गाउँपालिका र सिगास गाउँपालिकामा बैंक छैनन् ।

शिक्षा,स्वास्थ्य कृषिलगायतका सबै सेवाहरु स्थानीय तह अन्तर्गत आए पनि बैङ्किङ कारोबारका लागि सदरमुकाम पुग्नुपर्ने बाध्यता रहेको मणिलेक माविका प्रधानाध्यापक देवदत्त कलौनीले बताउनुभयो ।

स्थानीय तहमा बैंक नहुँदा दुर्गमका नागरिकलाई मात्रै होइन कर्मचारीहरुलाई समेत समस्या भएको छ । स्वास्थ्यका सबै कार्यक्रम स्थानीय तहबाट सञ्चालन भईसकेको अवस्थामा तलबका लागि मात्रै सदरमुकाम पुग्नुपर्ने बाध्यता रहेको गाँजरी स्वास्थ्य चौकीका इन्चार्ज जनकसिंह धामीले बताउनुभयो ।

तपाइँको प्रतिक्रिया ।