उच्चस्तरीय वार्ता अगावै दुई कोरियाबीच छलफल हुँदै

उच्चस्तरीय वार्ता अगावै दुई कोरियाबीच छलफल हुँदै

कपन अनलाइन 

सोल, २४ पुस । दक्षिण कोरिया र उत्तर कोरियाबीच तय भएको उच्चस्तरीय वार्ताका लागि दक्षिण र उत्तर कोरियाबीच पारस्परिक छलफल हुने भएको छ ।दक्षिण कोरियाको राष्ट्रिय एकीकरण मन्त्रालयले सोमबार यो जानकारी दिएको छ । मङ्गलबारका लागि तय भएको सो वार्ता अगावै सम्भवतः सोमबार यो छलफल हुने भएको बताइएको छ ।

दक्षिण कोरियाको राष्ट्रिय एकीकरण मन्त्रालयका प्रवक्ताका अनुसार दुई कोरियाबीच हुन गइरहेको वार्तामा गरिने छलफलका विषय तय गर्नका लागी सो पूर्वतयारी बैठकको आयोजना गरिएको हो ।यसैबीच उक्त मन्त्रालयले दिएको जानकारीअनुसार सोमबारको बैठकमा दक्षिण कोरियाले आयोजना गरी सहभागिताका लागि उत्तर कोरियालाई आमन्त्रण गरेको शीतकालीन ओलम्पिक खेलका बारेमा पनि आवश्यक छलफल हुनेछ ।

गत बर्षको मे महिनामा आफ्नो कार्यकाल शुरु गरेका दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इनले बारम्बार उत्तरसँग राखेको द्विपक्षीय वार्ताको प्रस्तावको वास्ता उत्तरले गरेको थिएन ।त्यसैले यस पटकको वार्तालाई विशेष महत्वाका साथ हेरिएको छ । सो वार्तामा पनि दुई कोरियाको आन्तरिक विषयभन्दा पनि कोरियाली प्रायद्वीपमा शान्ति स्थानाका बारेमा पनि केन्द्रित हुने बताइएको छ ।

प्राय द्विपक्षीय र आपसी सम्बन्धका विषयमा वार्ता हुनेछ– सो मन्त्रालयले जनाएको छ ।एकातर्फ आफ्नो वार्ताको प्रस्तावको बेवास्ता गर्ने र अर्कातर्फ एकपछि अर्काेगरी क्षेप्यास्त्र परीक्षण गर्दै जाने उत्तरका कारण दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इनले वार्ताको सम्भावना नरहेको अवस्थामा पुगेका  थिए ।

दक्षिण कोरियाली विदेश मन्त्रालयका एकजना अधिकारीले भने–यो वार्ताका कारण दुई कोरियाबीच थप सम्बन्ध वृद्धि हुने अपेक्षा गरिएको छ ।गत जुलाईमा दक्षिण कोरियाले प्रस्ताव गरेको वार्ताको एजेण्डा अहिले दुई कोरियाबीच सम्बन्ध विस्तारको प्रमुख मुद्दाका रुपमा रहेको एकीकरण मन्त्रालयका प्रवक्ताले बताएका  छन् ।

दक्षिण र उत्तर कोरिया उच्चस्तरीय अन्तर सरकारी वार्ताका लागि पाँच/पाँच सदस्यीय वार्ता टोलीको नामावली हालै स्थापित सिधा सञ्चार सम्पर्क (हट लाइन कम्युनिकेशन) मार्फत पठाइएको छ ।गत शनिबार दक्षिण कोरियाका राष्ट्रिय एकीकरण मन्त्री चो म्योङ गियोनको नेतृत्वमा रहेको पाँच सदस्यीय उच्च अधिकारीको नाम दक्षिण कोरियाले पठाएको थियो भने उत्तर कोरियाले आइतबार आफ्नो तर्फका सदस्यहरुको नामावली पठाएको छ ।

दक्षिण कोरियाले गरेको प्रस्तावअनुसार मङ्गलबार यी दुई देशबीचको उच्चस्तरीय वार्ता हुने तय भएको हो । वार्ताको तयारी व्यापक रुपमा भइरहेको दक्षिण कोरियाली अधिकारीहरुले जानकारी दिएका छन् ।

नयाँ वर्षको अवसरमा जनवरी १ मा उत्तर कोरियाली नेता किम जोङ उनले गरेको सम्बोधन पछि यी दुई देशको आन्तरिक राजनीतिक परिस्थिति फेरिएको छ ।उनको सो सम्बोधनमा दक्षिण कोरियाले गरेको उक्त उच्चस्तरीय द्विपक्षीय वार्तामा उत्तर कोरिया सहभागी हुने संकेत आएको थियो ।

त्यसयता यी दुई देशबीचको सम्बन्धमा केही सुधार आएको महसुश भएको बताइएको छ । साथै दक्षिण कोरियामा आयोजना हुन लागेको फेब्रुअरी महिनाको शीतकालीन ओलम्पिक खेलमा पनि उत्तर कोरियाले सहभागिता जनाउने बताएको छ ।

उक्त उच्चस्तरीय वार्ताको संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुथ्रेसले पनि स्वागत गरेका  छन् । उनले यो वार्ता पूर्ण रुपमा शान्ति वार्तामा पुग्न सकोस् भनी कामना गरेका  छन् ।

त्यसैगरी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि दुई कोरियाबीच हुन गइरहेको वार्ताको आइतबार स्वागत गरेका  थिए । उनले भनेका  थिए– म त सधैँ वार्ताकै माध्यमबाट सबै समस्याको समाधान गर्नुपर्छ भन्नेमा विश्वास गर्छु र अमेरिकाको धारणा पनि यही हो ।

तपाइँको प्रतिक्रिया ।