काठमाडौंको तापक्रम एक डिग्री, चिसो अझै बढ्ने

काठमाडौंको तापक्रम एक डिग्री, चिसो अझै बढ्ने

कपन अनलाइन

काठमाडौं,पौष २०।

बुधबारको भन्दा काठमाडौंको  न्यूनतम तापक्रम एक डिग्रीमा झरेपछि आज यस वर्षकै बढी चिसो महसुस गरिएको छ । काठमाडौँको आजको न्यूनतम तापक्रम १ दशमलव ५ डिग्रीसेल्सियस रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसअघि बुधबार काठमाडौँको न्यूनतम तापक्रम २ दशमलव २ डिग्रीसेल्सियस थियो । काठमाडौँ उपत्यका सहित देशैभर चिसो बढेको मौसमविद् शान्ति कँडेलले जानकारी दिएका छन् । उनका अनुसार चिसो अझै बढ्ने छ ।

“काठमाडौँ  मात्र हैन देशैभर चिसो बढेको छ, हिजोभन्दा आज बढी चिसो छ, देशभर अझै चिसो बढ्नेछ”, उनले भने । बिहानैदेखि घाम लागे पनि कठ्यांग्रिँदो जाडोले सर्वसाधारणलाई समस्या भएको छ । तापक्रम घटेर चिसो बढ्नु कुनै नयाँ प्रणालीको प्रभाव नभई मौसमी कारण भएको र यसमा उत्तर पश्चिम वायुको केही प्रभाव पनि देखिएको मौसमविद् कँडेलको भनाइ छ ।

आज तराईका अधिकांश क्षेत्रमा बाक्लो कुहिरो लागेको छ । अपराह्नदेखि क्रमिक सुधार आउने बताइएको छ । आज सबैभन्दा कम जुम्लामा (माइनस) ६ दशमलव ५ र सबैभन्दा बढी विराटनगरमा १० डिग्री सेल्सियस छ ।

तपाइँको प्रतिक्रिया ।