जुत्ता प्रदर्शनीमा करिब रु साढे दुई करोडको कारोबार
कपन अनलाइन
काठमाडौं,पौष १९।
पुस १३ गते देखि भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा फुटबेयर म्यानुफ्याक्चरर्स एशोसिएसनको आयोजनामा भएको १४ औँ जुत्ता प्रदर्शनीमा करिब ९० हजार दर्शकले अवलोकन गरेको र करिब रु साढे दुई करोडको कारोबार भएको छ।
‘आत्मनिर्भरताको आधार स्वदेशी उत्पादनको प्रयोग’ भन्ने नारा रहेको प्रदर्शनीमा स्वदेशी छालाजुत्ता तथा वस्तु उत्पादकको सहभागिता थियो भने प्रदर्शनीमा नेपाली छाला जुत्ता, ज्याकेट, ब्याग र चप्पलको स्टल राखिएको थियो ।
प्रदर्शनीमा सर्वसाधारणदेखि सरकारका मन्त्री, उच्च पदस्थ कर्मचारी तथा पूर्वमन्त्री समेतले अवलोकन गरेका थिए । यस प्रदर्शनीको मुख्य आकर्षणको रुपमा स्वदेशमै गरिएको रबर खेती एवं उत्पादन तथा अपांगमैत्री जुत्ता समेत राखिएको र कुल १३५ बिक्री कक्ष रहेको सञ्चार संयोजक नवराज भट्टराईले जानकारी दिएका छन् ।
प्रदर्शनीलाई व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल हस्तकला महासंघले सहयोग गरेका थिए । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले प्रदर्शनीको समापन गर्दै सरकारले मुलुकमा ससाना घरेलु उद्योगलाई संरक्षण गर्नुपर्ने नीतिलाई अवलम्बन गर्नुपर्नेमा जोड दिइन् ।
सोही महासंघका उपाध्यक्ष उमेशलाल श्रेष्ठले स्वदेशी उत्पादनलाई वृद्धि गरी आयात प्रतिस्थापन गर्नसकेमा मात्र देशमा आर्थिक विकास हुने बताए ।