साँखु शालिनदी मेलाका एक महिने व्रतालुले गरे जल ग्रहण

साँखु शालिनदी मेलाका एक महिने व्रतालुले गरे जल ग्रहण

कपन अनलाइन

काठमाडौ,पौष १७

पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म उपत्यकाको उत्तरपूर्वी भेगस्थित १८ किमीको दूरीमा रहेको साँखुस्थित शालिनदीको मेलाका व्रतालुले जल ग्रहण गरेका छन् ।

मेलाका २५० व्रतालुले माधवनारायणका मूल पुजारी सुदन राजोपाध्यायसँग आज बेलुकी जल लिएका हुन् । जल लिइसकेपछि व्रतालुले जुत्ता चप्पल छुन नहुने र नुन खान नहुने व्रतविधि रहेको श्री माधवनारायण स्वस्थानी व्रत तथा शालीनदी सुधार समितिका वरिष्ठ उपाध्यक्ष जीवन श्रेष्ठले जानकारी दिनुभयो ।

एक महिनासम्म साँखु शालिनदीमा माघस्नानसहित माधवनारायणको विशेष मेला लाग्दछ । यो मेला भर्न देशभरका भक्तजन माघ महिनामा साँखु आउने गर्छन् । मेलाका लागि सबै तयारी पूरा भएका समितिले जनाएको छ ।

माघ महिनामा यहाँ आई स्नान गरेर माधवनारायणको दर्शन गरेमा पाप पखालिई पुण्य कमाइने धार्मिक विश्वास छ । यो विश्वासमा प्रत्येक वर्ष यहाँ लाखौँ भक्तजन आउने गरेको साँखु एवं शालिनदी क्षेत्रको धार्मिक, सांस्कृतिक खोज अनुसन्धानमा लाग्नुभएका इतिहासकार प्रकाश श्रेष्ठ ‘सक्व’ले बताउनुभयो ।

यसवर्षको माधवनारायण मेलाका लागि साँखुस्थित शालिनदीमा सम्पूर्ण तयारी पूरा गरिएको समितिले जनाएको छ । यसवर्ष पुस १८ गतेदेखि माघ १७ सम्म २५ लाख दर्शनार्थीले सहज रुपमा दर्शन गर्न सक्ने गरी तयारी गरिएको उपाध्यक्ष श्रेष्ठ बताउनुहुन्छ ।

व्रतालु आज बेलुकीदेखि नै साँखुमा बास बस्न आएका छन् । साँखु शालिनदीमा माधवनारायणको व्रत बसी श्रीस्वस्थानीको कथा सुन्ने गरिन्छ ।

तपाइँको प्रतिक्रिया ।