पाशुपत क्षेत्र वरपरका धार्मिकस्थललाई सम्पदा मार्गका रुपमा विकास गर्नु पर्दछ :गगन थापा

पाशुपत क्षेत्र वरपरका धार्मिकस्थललाई सम्पदा मार्गका रुपमा विकास गर्नु पर्दछ :गगन थापा

कपन अनलाइन 

काठमाडौं, पौष १६।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं काठमाडौं क्षेत्र नं.४ बाट प्रतिनिधिसभा सदस्यमा नवनिर्वाचित गगनकुमार थापाले त्यस क्षेत्रको घरदैलो कार्यक्रमपछि आयोजना गरिएको ऐतिहासिक महत्व बोकेको चारुमती बुद्ध विहारमा आइतबार आयोजित पूजामा दीप प्रज्वलन गर्दै उक्त विहारको संरक्षण गर्ने र  प्राचीनताका बारे प्रचार प्रसारमा आफूले भूमिका निर्वाह गर्ने बताएका  छन् ।

उक्त कार्यक्रममा बोल्दै थापाले जयबागेश्वरी देखि कुटुबहाल सम्मका जीर्ण धार्मिकस्थलको संरक्षणका लागि पहिलो प्राथमिकतामा राखिने प्रतिबद्धता व्यक्त गर्दै विश्व सम्पदा क्षेत्रमा सूचीकृत पाशुपत क्षेत्र तथा त्यस वरपर क्षेत्रका धार्मिकस्थललाई सम्पदा मार्गका रुपमा विकास गर्नुपर्नेमा जोड दिएका  छन् ।

सोही क्षेत्र प्रदेश (क) बाट नवनिर्वाचित सांसद नरोत्तम वैद्यले भित्री सडक विस्तारका क्रममा भइरहेको ढिलासुस्तीले स्थानीयवासीलाई आवतजावतमा समस्या भइरहेको बताउँदै अब स्थानीय तहले पूर्वाधार विकास तथा ढल व्यवस्थापनमा माथिल्लो निकायसँग समन्वय गरी छिटोछरितो काम गर्नुपर्नेमा जोड दिए ।

तरुण दलकी नेत्री तथा समानुपातिक तर्फ बाट प्रदेस सभा सदस्य  राधा घलेले स्थानीय धार्मिकस्थललाई पर्यटकीय क्षेत्रका रुपमा विकास गरी पर्यटकलाई आकर्षित गर्नुपर्ने बताईन् । विहारका प्रमुख भिक्षु तपस्सी धम्मले विहारले गरेका विभिन्न सामाजिक तथा धार्मिक गतिविधिका बारे जानकारी गराए ।

तपाइँको प्रतिक्रिया ।