एसीसी यु–१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगिता अन्तिम खेलमा नेपालद्वारा म्यानमार पराजित

एसीसी यु–१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगिता अन्तिम खेलमा नेपालद्वारा म्यानमार पराजित

कपन अनलाइन

काठमाडौ,मंसिर २८ ।

एसीसी यु–१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगिता अन्तर्गत समूह चरणको अन्तिम खेलमा म्यानमारलाई ३ सय ३७ रनको फराकिलो अन्तरले पराजित गर्दै नेपाल समूह विजेता बनेको छ।

नेपालले दिएको ३ सय ५१ रनको लक्ष्य पछ्याउने क्रममा म्यानमारले ११.३ ओभरमा सवै विकेट गुमाएर १३ रन मात्रै बनाउन सक्यो।म्यानमारका कुनै पनि ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन्। नेपालका नारायण जोशी र मेखबहादुर थापाले समान ४–४ विकेट लिए। ३ ओभर बलिङ गरेका नारायणले २ ओभर मेडन राख्दै १ रन मात्रै खर्चिए। त्यस्तै, २ ओभर बलिङ गरेका मेखबहादुरले ३ रन खर्चिए।

कप्तान रित गौतमको शतकीय पारीको मदतले नेपालले ३५ ओभरमा ६ विकेट गुमाइ ३५० रन बनाएको थियो। रितसँगै नेपालका तृत राज दास र प्रतिश जिसीले अर्धशतकीय पारी खेलेका थिए। रितले ७८ बलमा अविजित १०६ रनको पारी खेल्दा १२ चौका प्रहार गरे। यस्तै, तृतराज दासले २९ बलमा ७ चौका र ३ छक्काको मदतमा ६४ रन जोडे भने प्रतिशले ३१ बलमा ६३ रन बनाए। सो क्रममा उनले १० चौका र १ छक्का प्रहार गरे।

नेपालको स्कोर फराकिलो बनाउन अन्य ब्याट्सम्यानहरु विशाल बिक्रम केसीले ४२, कुशल मल्लले ३६ तथा सुवास(सुबोध) ऐरले १७ रन जोडेका थिए । म्यानमारका बलर  हेइन हेट एङले ३ विकेट लिए।

समूह ए मा लगातार तीन खेल जित्दै समूह विजेता बनेको नेपाल ६ अंक सहित समूह विजेता बनेको हो। यसअघि पहिलो खेलमा नेपालले आयोजक थाइल्याण्डलाई १३३ रनले र दोस्रो खेलमा हङकङलाई ४ विकेटले हराएको थियो। ८ राष्ट्रले प्रतिस्पर्धा गरिरहेको प्रतियोगिताको समूहको शीर्ष दुई टोली सेमिफाइनल पुग्ने प्रावधान छ।

तपाइँको प्रतिक्रिया ।