यी ठाउँमा काठमाडौको मतगणना हुने
कपन अनलाइन
काठमाडौ,मंगसिर १९ ।
निर्वाचन आयोगले मतदान सकिएलगत्तै मतगणना गर्ने तयारी थालेको छ । काठमाडौँमा १० निर्वाचन क्षेत्र भएकाले फरकफरक स्थानमा मतगणना गरिने जिल्ला निर्वाचन कार्यालयकी सूचना अधिकारी शान्ति बोगटीले बताइन् । उनका अनुसार १, २, ३, ४ नम्बर निर्वाचन क्षेत्रको मतगणना राष्ट्रिय सभागृहमा हुनेछ ।
त्यस्तै, ६ नम्बर क्षेत्रको मतगणना जिल्ला समन्वय समितिको हलमा हुनेछ भने ८ नम्बर निर्वाचन क्षेत्रको मतगणना बबहरमहलस्थित वन परिसरमा हुने तयारी भइरहेको छ । ९ र १० नम्बर निर्वाचन क्षेत्रको मत गणना अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा गर्ने तयारी छ भने ५ र ७ नम्बर निर्वाचन क्षेत्रका टुंगो लागिनसकेको उनको भनाइ छ ।
मतगणना स्थलमा सीसीटीभी जडान गर्ने तथा तारबार लगाउने विषयमा आयोगले केही नभनेको बोगटीले बताइन् । “सभागृह, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा त सीसीटीभी जडान छ, अन्य ठाउँका विषयमा मुख्य निर्वाचन अधिकृतले समन्वय गरिरहनुभएको होला,” उनले भनिन् ।