चर्चित भारतीय अभिनेता शसी कपुरको निधन
कपन अनलाइन
मुम्बई ,मंगसिर १९ ।
भारतीय चर्चित अभिनेता शसी कपुरको ७९ बर्षको उमेरमा निधन भएको छ । शसीको सोमबार मुम्बईस्थित कोकिलाबेन अस्पतालमा सांझ ५ः२० मा निधन भएको हो ।
लामो समयदेखि अस्वस्थ रहेका उनलाई छातीमा समस्या भएको बताएपछि शनिबार अस्पताल भर्ना गरिएको थियो । रोमान्टिक हिरोको छबि बनाएका शसीको सन् १९३८ मे १८ मा कोलकतामा जन्म भएको हो । उनले आफ्नो जीवनकालमा १६० भन्दा बढी फिल्ममा अभिनय गरेका छन् । सन् २०११ मा प्रतिष्ठित पद्म भुषण पुरस्कार र सन् २०१५ मा दादासाब फाल्के पुरस्कारबाट सम्मानीत उनी फिल्मकर्मी पृथ्वीराज कपुरका कान्छा छोरा हुन् । अभिनेता, निर्देशक राज कपुर र सम्मी कपुर शसीका दाई हुन् ।
शसीले शकुन्तला नाटकबाट अभिनय यात्रा सुरु गरेका थिए । उनले अभिनय गरेको पहिलो फिल्म ‘आग’ हो । आग उनका जेठा दाई राज कपुरले निर्माण गरेका थिए । आवारा फिल्ममा शसीले आफ्ना दाई राजको बाल्यकालको अभिनय गरेका थिए ।
शसीले सन् १९७४ देखि सन् १९९१ सम्म अभिताभ बच्चनका साथ रोटी, कपडे और मकान,दीवार, कभी कभी,इमान धरम,त्रिशुल,काला पत्थर, सुहाग,दो और दो पांच,शान, सिलसिला,नमक हलाल र अकेला गरी १२ वटा फिल्ममा अभिनय गरेका थिए । उनलाई बिशेषगरी दिवार फिल्मको मेरे पास मां हें डाइलगले नयां पहिचान दिलाएको हो । दिवारमा शसी रबि बर्मा नामक पुलीसको भूमिकामा छन् । उनको दाईको भूमिकामा अभिताभ बच्चन छन् । अपराधको दुनीयामा लागेका बिजय अर्थात् अभिताभले मेरे पास बंगला है, गाडी है, तुम्हारा पास क्या है ? भन्दा शसीले मेरो पास मां है भन्छन् । त्यो सम्वाद निकै चर्चित भएको थियो ।