यस कारण काठमाडौं ४ मा मतदाताले राजन भट्टराईलाई रोज्नुपर्छ

कपन अनलाइन

काठमाडौ,मंगसिर १५ /विचार /उत्तम अधिकारी

जति जति मंगसिर २१ नजिकिदै छ त्यति त्यति निर्वाचनको माहोलले  गाउँ, शहर, क्षेत्र, जिल्ला र सिंगो देशलाई नै तताईरहेको छ।निर्वाचनको माहोलले जताततै उत्सुकता जागेका बेला काठमाडौं क्षेत्र नम्वर ४ चर्चाको मध्य बिन्दुमा रहेकोछ । चर्चित हुनुका धेरै बिशेसता पनि छन् यो क्षेत्रसंग ।

बिश्व सम्पदा सुचिमा सुचिकृत विश्वका हिन्दुहरुको पावन थलो पशुपति क्षेत्र, बुढानिलकण्ठ, नक्साल भगवती, चारुमती बिहार, जस्ता अनेकौं पुरातात्विक महत्व र जनताको भावना जोडिएका देवालयहरु,  पर्यटकीय सम्भाबना बोकेको शिवपुरी यसै क्षेत्रमा पर्दछन । तर यी भन्दा पनि बढी नेपाली राजनीतिका दुई हेभी वेट व्यक्तित्वको प्रतिस्पर्धाका कारण चर्चित बनेको छ काठमाडौं ४ यतिबेला ।

स्थानीय तहबाट देशको ठुलो दल बनेको नेकपा (एमाले) का केन्द्रिय सदस्य तथा परराष्ट्र मामिलाका बिज्ञ डा. राजन भट्टराई र कांग्रेस भित्रै ठुलो सम्भावना बोकेका भनेर चर्चा गरिएका पुर्व स्वास्थ्य मन्त्रि गगन थापा यहि क्षेत्रमा प्रतिस्पर्धामा उत्रेकाले यहाँको चुनावी सरगर्मीले अत्यन्तै रोमाञ्चकता र उत्सुकता बोकेको छ ।

बिद्यार्थी राजनीति बाट उदाएका डा. भट्टराईले माधब नेपाल नेतृत्वको सरकारमा प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकारको भूमिका निर्वाह गरिसकेका छन्  भने नेपाल भारत सन्धि सम्झौता पुनरावलोकनका लागि सरकारलाई सुझाव दिने नेपाल भारत प्रबुद्ध समुहका ५ मध्ये एक सदस्य समेत हुन् । उनि दोश्रो संबिधान सभामा नेपाल सरकारद्वारा मनोनित सभासद समेत हुन् । बुद्धिजीवी सर्कल र रास्ट्रिय स्तरमा ख्याती प्राप्त उनको व्यक्तित्व शालीन र भद्र रहेको छ ।

त्यसैगरी गगन थापा नेपाली कांग्रेसका तर्फबाट स्वास्थ्य मन्त्रि समेत रहिसकेका, दोश्रो संबिधान सभामा यस क्षेत्रबाट प्रत्यक्ष निर्वाचित सभासद हुन् । प्रस्ट बक्ता र आक्रामक प्रचार शैलीका कारण सधैं मिडियामा हावी रहने थापा जनताबीच परिचित नेता हुन् । थापा पनि बिद्यार्थी राजनीतिबाटै राष्ट्रिय राजनीतिमा स्थापित नेता हुन् ।

काठमाडौ क्षेत्र नम्बर ४ का प्रतिनिधि सभा सदस्य उम्मेदवार बनेका  दुवै युवा नेताका यिनै बिशिस्टताका कारण यतिबेला यस क्षेत्रका मतदाता कसलाई रोज्ने भन्ने अन्यौलमा रहेका छन् । यस लेख मार्फत त्यस्तो अन्यौल र द्विविधा चिर्ने कोशिस गरिएको छ ।

  • झट्ट हेर्दा व्यक्तित्व बिचको टकराव जस्तो देखिए पनि यो निर्वाचन फरक बिचार, सिद्धान्त र दृष्टि भएका दुइ गठबन्धन बिचको प्रतिस्पर्धा हो । यो निर्वाचन संघीय गणतन्त्रात्मक राज्य, समाजवाद प्राप्तिको लक्ष्य, समावेशी समानुपातिक निर्वाचन प्रणालीका निर्माता, बहुदलीय प्रतिस्पर्धात्मक राजनीतिक ब्यबस्था अवलम्बन गरेको अग्रगमन र परिवर्तनकारी बामपन्थी गठबन्धन र इतिहासमा बारम्बार आफैभित्र अल्झिएर प्राप्त अवसरको सदुपयोग गर्न नसकी पटक पटक असफलताको भोग गरेर परिवर्तन र अग्रगमनको पक्षमा कहिल्यै पनि समयमै निर्णयमा पुग्न नसकेर बाध्यावास त्यसलाई स्वीकार गर्दै आइरहेको यथास्थितिवादीको ट्याग भिरेको कांग्रेस बिचको प्रतिस्पर्धा हो भन्नेमा मतदाताहरु स्पष्ट हुनु पर्दछ । लोकतान्त्रिक गठबन्धनको नाउमा कांग्रेसले  राजतन्त्रात्मक हिन्दुवादीसँग गरेको गठबन्धन र यसले आगामी दिनमा नेपाली राजनीतिमा पार्न सक्ने नकारात्मक प्रभाव र प्राप्त उपलब्धिलाइ विध्वंस गर्नसक्ने अबस्स्थाका बारेमा पनि जानकार रहनु पर्ने अवस्था छ ।
  • नेपाली राजनीतिक इतिहासमा बिभिन्न समयामा ३ पटक स्पष्ट बहुमत प्राप्त गरेर पनि तिनै पटक फगत आफ्नै आन्तरिक कारण संविधानले निर्देशित गरेको पुरा अवधि सरकार चलाउन नसकेर देशमा राजनीतिक अस्थिरता उत्पन्न गर्ने शक्ति नेपाली कांग्रेस नै भएको बुझ्नु जरुरी छ । त्यतिमात्रै होइन २०४६ पश्चात बिभिन्न समयमा गरि दुइ दशक बढी सरकारको नेतृत्व गरेर राजनीतिक अस्थिरतालाई निरन्तरता दिने कांग्रेसलाई पुन: जिताएर जनताले कुनै नया परिवर्तन, बिकास र स्थिरता अनि कुनै किसिमको नया थालनीको अनुभव गर्न पाउने आधार कुनैपनि कोणबाट नदेखिएको हुँदा यस्तो शक्तिलाई जिताएर उपलब्धि बिहिन राज्य संचालकको संवाहकको रुपमा मतदाताले आफुलाई उभ्याउनु न्यायसंगत र उचित ठहर्ने छैन ।
  • मौका पाएर पनि बारम्बार असफल भएको शक्तिलाई एक पटक छायामा राखेर सानोतिनो अवसर प्राप्त गर्दापनि अत्यन्तै उत्साहका साथ देश र जनताका पक्षमा केहि गर्न खोजेको, जनताको अधिकार स्थापित गर्न लागिपरेको, बिकासको मूल फुटाउन प्रयत्नशील, अन्धकारबाट उज्यालोतर्फको यात्रामा देशलाई अघि बढाउन प्रतिबद्ध, अनुचित बिदेशी प्रभावबाट मुक्त गरेर स्वाधीन राज्य निर्माणमा जुटेको राष्ट्रबादी र जनवादी बामपन्थी शक्तिलाई मतदाताले अत्याधिक बहुमत प्रदान गरि परिक्षण गर्नैपर्ने देशव्यापी रुपमा देखिएको आवश्यकताको महसुस हरेक मतदाताले गर्नैपर्ने हुन्छ ।
  • नेपाली कांग्रेसको केहि समय यताको ब्यबहारले उ के हो भन्ने छर्लंग देखाएकै छ । न्यायालयमा स्वच्छ छबी भएकी तत्कालिन प्रधान न्यायाधिसलाई महाअभियोग लगाउने सर्वत्र आलोचित कार्य होस् वा जताततैबाट भ्रस्ट प्रमाणित तत्कालिन अख्तियार प्रमुखलाई महाअभियोगबाट जोगाउने प्रयत्न गरेकोमा होस् कांग्रेसले संस्थागत रुपमै विधिको सासन र जनताको बिश्वास तोडेकै हो भन्न सकिन्छ त्यसैगरी नेपाली जनतालाई बाच्न पाउने हकबाट बन्चित गराउने गरि भारतले लगाएको नाकाबन्दीको स्पष्ट समर्थन गर्नेदेखि लिएर प्रहरीको आइजीपी नियुक्ति प्रकृयामा प्रहरी प्रसासनको बिश्वब्यापी मापदण्ड र राज्यको सबै नीति नियमको खिल्ली उडाउदै भावी आइजिपिलाई राजनीतिक कोपभाजनमा पारेर बर्खास्त गर्ने सम्मको प्रपन्च रची खल्तीबाट आइजीपी नियुक्तिको चलन चलाउने शक्तिलाई किन राज्यको नीति निर्माण गर्ने र समग्र राज्य संचालनको चाबिताला जनताले सुम्पने भन्ने बारे मतदाता जानकार रहनु अत्यन्त आवस्यक देखिन्छ ।
  • व्यक्तित्वकै हिसावले पनि बाल्यकाल देखि नै चाबहिल स्थायी बसोवास भएका, यहिबाट शिक्षाको शुरुवात गरेका, यहिँबाट बिद्यार्थी राजनीतिमा सरिक भए वापत तत्कालिन पंचायती सासनबाट सर्वस्वहरण सहित राजकाजको मुद्दा चलाईएका, राजनीतिक चेतना जागृत भएदेखि नै अहिलेको क्षेत्र नम्वर ४ अन्तर्गत पर्ने कामपा ७ लाई आधार मानेर निरन्तर क्रियाशील डा. राजन भट्टराईले यस क्षेत्रको स्थानीय समस्या र जनताको पीरमर्कालाई सम्बोधन गर्न जति सजिलो छ अरुलाई त्यति सहज छैन । यहिँको माटोमा हुर्के बढेर यहाँका स्थानीयवासीको जीवनस्तर, दैनिक जीवनयापन, यहाँको बिकास, यहाँको सम्भावना, यहाँ भित्रको दु:ख बुझेको व्यक्तिले मात्रै त्यसलाई प्रभावकारी रुपमा सुधार ल्याउन सक्छ । यस अर्थमा डा. भट्टराईको बिकल्प मतदाताले खोज्नु भनेको हिजोजस्तै पुनः यस क्षेत्रलाई अब्यबस्थित, अविकसित, अन्यौलपूर्ण र जनप्रतिनिधि बिहिन जस्तो अबस्थामा राखिरहनु बाहेक कुनै फरक हुने छैन ।
  • राजनीतिमा जति बिज्ञ व्यक्तित्वहरुको प्रभाव रहन्छ त्यति नै देशको समग्र राजनीति संग्लिंदै जान्छ । देशको अस्थिर राजनीतिलाई स्थिरतातर्फ डोर्याउन बिज्ञ व्यक्तिहरुले बिबेक र चेतनाको उच्चतम प्रयोग गर्नुर्पर्ने आवस्यकता देखिंदै गएकाले पनि डा. भट्टराई जस्ता बिज्ञलाई मतदाताले आफ्ना प्रतिनिधि चुनेर पुरातनवादी र यथास्थितिवादी चिन्तनलाई भत्काउन सहयोग पुर्याउनु पर्दछ ।
  • जनताले चुनेर पठाएका आफ्ना प्रतिनिधिलाई सिंगो कार्यकाल भरि भेट्नै नपाउने, आफ्ना गाउँ ठाउँका समस्या सुनाउनै नपाउने, दैनिक जीवनयापनसंग जोडिएका खानेपानी, बिजुली बत्ति, सडक, सार्वजनिक यातायात जस्ता अति संबेदनशील बिषयमा जनप्रतिनिधिले जनचासो सम्बोधन हुनेगरी केहि गर्दै नगर्ने जुन परिपाटी यस बिचमा यो क्षेत्रमा देखियो त्यसमा सुधार र परिवर्तनका लागि पनि मतदाता सचेत रहनुपर्ने देखिन्छ । डा. भट्टराईले जहाँ पुग्दा पनि उदघोस गरेको एउटा कुरा महत्वपूर्ण छ । आफुलाई जनताले निर्वाचित गरेर पठाएपछी यस क्षेत्रको अबस्थामा सुधार ल्याउन नसके, बिकास कार्यलाई द्रुत रुपमा अघि बढाउन नसके, जनताको दैनिक जीवनयापनसंग जोडिएको अति संबेदनशील बिषयमा सुधार ल्याएर जनतालाई राहत प्रदान गर्न नसके पुन: अर्कोपटक त्यहि ठाउँमा पुग्नका लागि जनतासामु नआउने सार्वजनिक प्रतिबद्धता गरेका छन् । जसका कारण उनबाट मतदाताले आशा गर्ने प्रसस्त ठाउँ पाएका छन् ।
  • निरन्तरको अल्पकालीन सरकारले देशलाई अधोगतितर्फ धकेलेको छ भने जनतामा ब्यापक निरासा पैदा गराएको छ । राजनीतिक अस्थिरताले सबै तह तप्कामा भद्रगोले अवस्था श्रीजना गरेको छ । यहि परिस्थितिलाई मध्यनजर गर्दै स्थिर सरकार, राजनीतिक स्थायित्व, बिकास, सम्वृद्धि, सुशासनका निमित्त स्पष्ट बहुमत सहितको स्थायी सरकारको परिकल्पनाका साथ नेकपा (एमाले) र नेकपा माओबादी (केन्द्र) ले बाम गठबन्धनको निर्माण गरि बृहत बाम एकताको पहल सहित निर्वाचनमा सहयात्रा गरेकाले सोहि उद्देश्य पूर्तिका लागि पनि यस पटक मतदाताहरुले बाम गठबन्धनलाई जिताउनु जरुरी रहेको मतदाताले बुझ्न ढिलाई गर्नु हुदैन । माथिका उद्देस्य पुरा हुनु भनेको सारा जनताका इच्छा आकांक्षाले मुर्त रुप प्राप्त गर्नु हो भन्ने कुरा आम मतदाताले महसुस गर्नुपर्दछ ।

यसर्थ काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ मा बाम गठबन्धनका साझा उम्मेदवार डा. राजन भट्टराई र बाम गठवन्धनका उम्मेदवारलाई मतदाताले बिश्वास गरि आगामी निर्वाचनमा रोज्नु आजको राजनैतिक र राष्ट्रिय आवस्यकता पनि हो भन्नेमा दुइमत छैन ।

(लेखक अधिकारी पत्रकारिता र व्यवसायिक क्षेत्रमा संलग्न छन )

तपाइँको प्रतिक्रिया ।