आचारसंहिता विपरीतका झण्डा , तुल र ब्यानर हटाइयो
कपन अनलाइन
पथरी, मोरङ, १० मंसिर । आचारसंहिता विपरीत मोरङका विभिन्न सार्वजनिक ठाउँमा राखिएका राजनीतिक दलका झण्डा र तुल–ब्यानर सरोकारवालाको टोलीले हटाएको छ ।
क्षेत्रीय निर्वाचन कार्यालय विराटनगरका प्रमुख प्रेमप्रसाद सञ्जेलका अनुसार मोरङका विभिन्न क्षेत्रमा आचारसंहिता विपरीत टाँगिएको झण्डा, तुल–ब्यानर शनिबार साँझसम्म गरिएको अनुगमनमा विराटनगर–रंगेली सडकखण्डमा पर्ने विभिन्न गाउँपालिका र रंगेली नगरपालिकामा राखिएका तुल–ब्यानर हटाएको हो ।
मोरङका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्य, क्षेत्रीय निर्वाचन अधिकारी प्रेमप्रसाद सञ्जेल, मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडा सहित सुरक्षा निकायका प्रमुखको टोलीले आचारसंहिता विपरीतका तुल–ब्यानर हटाएको सञ्जेलले जानकारी दिए । आचारसंहिताको अनुगमन मा निस्किएकाले टोलीले निर्वाचन कार्यालयको पासबिना सवारीसाधनमा पार्टीको झण्डा र ब्यानर राखेर कुदाएको गाडीसमेत फेला पारेको थियो ।
यस्तै मोटरसाइकल चालकले समेत पार्टीको झण्डा बाँधेर हिँडिरहेको भेटिएको थियो । दलका नेता तथा कार्यकर्ताले सार्वजनिक ठाउँमा पार्टीको तुल–ब्यानर राख्नाका साथै सर्वसाधारणका निजी घर, पसल र सवारीसाधनमा समेत जबर्जस्ती झण्डा राखेको फेला परेको थियो ।