कम्युनिष्ट गठबन्धन लोकतन्त्र विरोधी छ : देउवा
कपन अनलाइन
दार्चुला, १ मंसिर । नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले एमाले र माओवादी केन्द्र मिलेर बनेको वाम गठबन्धन लोकतन्त्र र प्रजातन्त्र विरोधी भएको बताएका छन् ।
शुक्रबार काँग्रेस दार्चुलाद्वारा जिल्ला सदरमुकाम खलंगामा आयोजित चुनावी आमसभामा काँग्रेस सभापति देउवाले लोकतन्त्रमा नेपाली जनताले शान्तिको सास फेर्न पाइरहेको तर कम्युनिष्टको एकताले देशलाई अधिनायकवादतर्फ लैजाने खतरा बढेको बताए । ‘कम्युनिष्टले घुमाइफिराइ एकता गरेर जनतालाई धम्काउने, डराउने र त्रासमा राख्ने कोशिश गरिरहेका छन्,’ प्रधानमन्त्री देउवाले भने ।
विसं २००७ मा राणाशासनको अन्त्य गरी प्रजातन्त्र स्थापना गरेको काँग्रेसले नेपाली जनतालाई यो देशको मालिक बनाएको बताउँदै उनले आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव नेपालको प्रजातान्त्रिक भविष्यका निम्ति अति महत्वपूर्ण खुट्किला भएको स्पष्ट पारे ।