आयरल्याण्डलाई ५–१ ले हराउँदै डेनमार्क विश्वकप फुटबलमा छनौट

आयरल्याण्डलाई ५–१ ले हराउँदै डेनमार्क विश्वकप फुटबलमा छनौट

कपन अनलाइन 

काठमाडौं, २९ कार्तिक । रुसमा हुने विश्वकप फुटबलमा डेनमार्क छनौट भएको छ । युरोपियन क्षेत्रको छनौट अन्तर्गत प्ले–अफको दोस्रो लेगमा रिपब्लिक अफ आयरल्याण्डलाई ५–१ ले हराउँदै डेनमार्कले विश्वकपमा स्थान बनाउन सफल भएको हो ।

पहिलो लेग गोलरहित बराबरी खेलेको डेनमार्क र आयरल्याण्डले दोस्रो लेगको सुरुको छैटौं मिनेटमा शेन डफीको गोलको मद्दतमा आयरल्याण्डलाई सुरुवाति अग्रता दिलाएका थिए । तर त्यसपछि भने डेनमार्कले गोलको वर्षा नै गर्‍यो ।

२० औं मिनेटमा आयरल्याण्डका साइरस क्रिष्टिले आत्मघाती गोल गरे । ३२ औं मिनेटमा व्यक्तिगत पहिलो गोल गरेका डेनमार्कका क्रिष्टियन एरिक्सनले ६३ र ७३ औं मिनेटमा थप दुई गोल गर्दै ह्याट्रिक पूरा गरेपछि डेनमार्कले ४–१ को अग्रता लियो ।

९० औं मिनेटमा पाएको पेनाल्टीको अवसरलाई सदुपयोग गर्दै निकलस बेन्टनरले गोल गरेपछि डेनमार्क ५–१ ले विजयी भयो र युरोपियन क्षेत्रबाट विश्वकपका लागि बाँकी रहेको एक स्थानमा आफूलाई राख्न सफल भयो ।

तपाइँको प्रतिक्रिया ।