कपनमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्नः न्यून प्रभाव
क
पन अनलाइनकपनमा पहिलोपटक सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । कपन गाविसका कार्यक्रम तथा बजेट विनियोजनका बारेमा फोकस भएको कार्यक्रमलाई विश्व परिदृष्य वकालत मञ्चले आयोजना गरेको हो । पहिलो पटक यस्तो खाले कार्यक्रम आयोजना हुँदा पनि कम प्रचारप्रसारका कारण कार्यक्रममा उपस्थिति निकै थियो भने उपस्थित भएका पनि प्रायः विभिन्न पार्टीका कार्यकर्ता थिए । सहभागिमा चासो वा गुनासो के विषयमा राख्ने भन्ने कुराको अन्यौलता देखिन्थ्यो ।।
सहभागिहरुले १ र ३ वडामा अहिलेसम्म वडा नागरिक मञ्च गठन नभएको कुरालाई बढि महत्वका साथ उठाएका थिए भने खुल्ला दिशापिसाब मुक्त कपनलगायतका विषयमा पनि सहभागिले आफ्नो चासो व्यक्त गरेका थिए । बालउद्धार स्कूलमा भट्टि संचालन भएको विषय पनि उठेको थियो । सार्वजनिक सरोकारका विषयहरुमा सहभागिले बाटोघाटो, खानेपानीलगायतका विषयमा चासो देखाएका थिए । सहभागिले गरेका प्रश्नका जवाफ कपन गाविसका सचिव लोमस आचार्य दिएका थिए ।
यसअघि कार्यक्रमको सुरुमा कपन गाविसले के कति काम यो आर्थिकवर्ष भयो भन्ने जानकारी गाविसका सहायक श्याम अधिकारीले दिएका थिए । कपन गाविसका सचिव तथा राजनीतिक दलहरु प्रतिनिधिलाई जवाफदेही वक्तको रुपमा मञ्चमा राखेर सुरु गरिएको कार्यक्रममा लगभग ६० जनाको सहभागिता थियो । सहभागिमध्ये अधिकांश विभिन्न पार्टीका कार्यकर्ता थिए ।
कपनबारे धेरै अध्ययन अनुसन्धान नगरी कपन बाहिरको संस्थाले आयोजना गरेको कार्यक्रममा अत्यन्तै महत्व राख्ने विषय एकदमै कम उठेको थियो । कपनमा कृयाशिल राजनीतिक दलका प्रतिनिधिहरुलाई भनेर कुनै किसिमको प्रश्नहरु आएनन् । ३ घण्टा लामो कार्यक्रममा राजनीतिक दलका कपन प्रमुखहरु चुपचाप बसिरहे । अन्तिममा वक्ताको रुपमा २ मिनेट समय पाउँदा त्यसको उपयोग गर्दै कार्यक्रम सफल भएकोमा सन्तोष मान्ने काम मात्र उनीहरुले गरे ।
