कपन-५ को अर्ग्यानिक फार्म हाउसमा मिठो, सफा र सस्तो अर्ग्यानिक खाना
मिठो र सफा खाना खानका लागि मानिस टाढा–टाढासम्म पुगिरहेका हुन्छन् । कतिपय कपनवासी पनि मिठो खानका लागि चारतिर भौंतारिएको हामी देख्छौं । मिठो र सफा खानका लागि टाढा धाउनेहरूमा तपाई हामी स्वयम् पनि पर्न सक्छौं । यसरीटाढा–टाढा पुग्दा पनि भनेजस्तो खान नपाउन पनि सकिन्छ ।
कहिलेकाहिँ नजिकैका राम्रा ठाउँका बारेमा हामी अनविज्ञ भैरहेको पनि हुनसक्छौं । कपनमा नै शान्त वातावरणमा मिठो तथा सफा खाना खान पाइने ठाउँको बारेमा कतिपयलाई थाहा नभएको पनि हुनसक्छ । यहाँ मिठो तथा सफा खान मात्र हैन अग्र्यानिक खाना खान पाइन्छ । विदेशबाट(हल्याण्ड) नेपालमा नै केही गर्ने मनसुवा लिएर स्वदेश फर्किएका युवा संगम शेर्पाले कपनको १८ रोपनी क्षेत्रफललाई आफ्नो कर्म थलो बनाएर आफू काम गरिरहेका छन् र अरुलाई सिकाइरहेका छन् ।
कपन गाविसको वडा नं. ५ मा रहेका उनको अग्र्यानिक फार्म हाउस थाहा पाउनका लगि उनले कपनका धेरै ठाउँमा बोर्ड पनि राखेका छन् । उनको यस फार्ममा टिपिकल नेपाली खाना खान आउनेहरु धेरै छन् । त्यसो त नेपाली खानासहित अरु विभिन्न परिकार पनि उनले खुवाउँछन् । यी सबै खाना अग्र्यानिक(मन्द विषरहित) हुने गर्छन् । लिजमा लिएको १८ रोपनी क्षेत्रफलमा उनले विभिन्न तरकारी तथा अरु बाली लगाएका छन् । आफैले भैँसी पालेका छन् । यहाँ फलाएका विभिन्न तरकारीजन्य बाली बिक्री पनि गर्छन् । काठमाडौं सहरमा चलेका भाटभटेनी सुपरमार्केट लगायत केही चलेका रेष्टुरेन्टमा उनका अग्र्यानिक उत्पादन बिक्री हुने गर्दछ । महाराजगञ्ज चक्रपथमा उनले आफ्ना उत्पादनको विक्री कक्ष पनि राखेका छन् । आफ्नो जग्गामा नहुने खाद्य्यान बालीचाहिँ उनले गाउँबाट मगाउँछन् । ताप्लेजुङ स्थायी घरमा भएका संगमले उतैबाट विभिन्न अरु खाद्य्यान बाली मगाउने गर्छन् । अग्र्यानिक खेती र खानालाई उृनी व्यवसाय बनाइरहेका छन् ।
अग्र्यानिक भन्ने विक्तिकै सामान्यतया नेपाली समाजमा मंहगो हुन्छ भन्ने मानसिकतालाई पनि संगमले गलत बनाइरहेका छन् । उनका उत्पादनहरु बजारमा पाइने अरु उत्पादनभन्दा मंहगा छैनन् । उनका खाना खाँदा बाहिर अन्य रेष्टुरेण्टभन्दा मंहगो छैन बरु सस्तो नै छ । उनले आफैले लोकल कुखुरा पनि पालेका छन् । लोकल कुखुराको मासुसहित बासमती चामलको बास्नादार चामलको खानाको सेट रु.२०० को हाराहारीमा बेचेका छन् उनले । त्यो पनि अधिकांश खाना दाउरामा पाक्ने गर्दछ । धराने बंगुरको मासु पनि पाइन्छ उनकोमा । ड्रिङ्क्स गर्नेहरुलाई ताप्लेजुङबाटै कोदो ल्याएर अग्र्यानिक तोङवा तथा रक्सी बनाएका छन् । मिठो तथा स्वच्छ रक्सीका लागि पनि उनको अग्र्यानिक फर्म चर्चित बनिरहेको छ ।
पूरानो घरलाई व्यवस्थित गरेर रात बस्ने व्यवस्था पनि उनले गरेका छन् । रात बास बसाइचाहिँ बिशेषगरेर विदेशीहरुलाई टार्गेट गरेर बनाइएको हो । संगम ट्राभल बिजनेस पनि गर्छन् । उनको टाभलले पनि अर्ग्यानिक र घरेलु ट्युरिजमको काम गर्ने गर्दछ । रु. १००० मा डिनरसहित रात बस्ने सुबिधा उनले प्रदान गरेका छन् । दुई वर्ष पुग्न लागेको उनको यो अग्र्यानिक फर्ममा उनले करिब २५ लाख लगानी गरिसकेका छन् ।