प्रत्यक्षतर्फको मतपत्र छपाई सकियो, जिल्ला जिल्लामा ढुवानी सुरु
कपन अनलाइन
काठमाडौं, २० कात्तिक । निर्वाचन आयोगले पहिलो चरणमा निर्वाचन हुने ३२ जिल्ला अन्तर्गत प्रत्यक्षतर्फको मतपत्र छपाईको काम सकेको छ । आयोगका प्रवक्ता नवराज ढकालका अनुसार मंसिर १० गते निर्वाचन हुने ३७ निर्वाचन क्षेत्रका लागि प्रत्यक्षतर्फ ३५ लाख मतपत्र छापिसकिएको हो ।
आयोगले पहिलो चरणमा निर्वाचन हुने जिल्लाहरुमा २७ गतेभित्र मतपत्र पुर्याइसक्ने जनाएको छ । छापिएको मतपत्र आजैबाट ढुवानी सुरु गरिएको आयोगले जनाएको छ । दोस्रो चरणको निर्वाचनका लागि पनि मतपत्र छपाई केही दिनभित्रै सुरु गर्ने आयोगको तयारी रहेको छ ।
दोस्रो चरणको निर्वाचन हुने ४५ जिल्लाको मुख्य निर्वाचन कार्यालयले आइतबार उम्मेदवारलाई दिएको निर्वाचन चिन्हको विवरण आयोगलाई प्राप्त भईसकेको छ । प्राप्त विवरणअनुसार आयोगले मतपत्र छपाईको काम सुरु गर्नेछ । सर्वोच्चको फैसलाले केही समय अन्यौलमा रहेको आयोगले अन्तत्वगत्वा अदालतको आदेशअनुसार मतपत्र छाप्न सुरु गरेको थियो ।