इन्स्टाग्राममा अब साथीसँगै लाइभ गर्न सकिने

कपन अनलाइन 

एजेन्सी, १० कार्तिक ।चर्चित फोटोब्लगिङ वेबसाइट तथा एप इन्स्टाग्रामले लाइभ स्ट्रिमिङ फिचर सुरुवात गरेको अझै एकवर्ष पुगिसकेको छैन । यसबीचमा कम्पनीले लाइभ फिचरलाई धेरैपटक अपडेट गरिसकेको छ । गत जुन महिनामा उसले प्रयोगकर्तालाई आफ्नो लाइभ भिडियोपछि शेभ गरेर २४ घन्टाभित्रमा शेयर गर्नसक्ने फिचर उपलब्ध गराएको थियो ।र, अहिले फेरि इन्स्टाग्रामले एक कदम अघि बढ्दै प्रयोगकर्ताले आफ्ना साथीहरुसँग सँगै लाइभ स्ट्रिम गर्न सक्ने फिचर थप गरेको छ ।

यस फिचरको नाम Going Live with a friend  रहेको छ । यो फिचर एन्ड्रोइड तथा आइओएसमा इन्स्टाग्राम एपको भर्सन २० मा रहेको छ । एप स्टोरमा इन्स्टाग्रामको यो अपडेट भर्सन उपलब्ध छ ।

इन्स्टाग्रामले एक ब्लगमार्फत यस फिचरका बारेमा प्रष्ट पार्दै लेखेको छ: लाइभ भिडियोको सहयोगले तपाइँ बिल्कुलै नयाँ तरिकाले सामाग्रीहरु शेयर गर्न सक्नुहुनेछ । अब आफ्नो लाइभ ब्रोडकास्टमा कुनैपनि गेष्टलाई जोड्न सहज हुनेछ । दायाँतर्फ तल रहेको आइकन ट्याप गर्नुहोस् र भिडियो हेरिरहेको कुनैपनि व्यक्तिलाई इन्भाइट गर्नुहोस् ।

प्रयोगकर्ताले इन्स्टाग्राममा लाइभ स्ट्रिमिङ सुरु गरेसँगै उक्त लाइभ हेरिरहेका कुनैपनि दर्शकलाई लाइभमा जोडिन निम्तो पठाउन सक्नेछन् । ती व्यक्तिले निम्तो स्विकार गरेसँगै स्क्रिन दुई भागमा विभाजन हुनेछ र साथीको लाइभ स्क्रिनको अर्को हिस्सामा सुरु हुनेछ ।

प्रयोगकर्ताले कुनैपनि समयमा आफ्नो गेष्टलाई हटाउन सक्नेछन् र अर्को व्यक्तिलाई जोड्न सक्नेछन् । साथै आफैपनि लाइभ प्रशारणबाट बाहिरिन सक्नेछन् । लाइभ सकिएसँगै आफ्नो लाइभ भिडियोलाई स्टोरीमा पनि शेयर गर्न सकिनेछ । लाइभ भिडियोलाई पछि शेयर गर्न नचाहेमा शेयर नगर्ने विकल्प पनि रहनेछ ।

तपाइँको प्रतिक्रिया ।