७०२ जना उम्मेदवारले चुनाव चिन्ह पाए

कपन अनलाइन 

काठमाडौ,कार्तिक ९।

निर्वाचन आयोगले मंसिर १० गते हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि जम्मा ७०२ जना उम्मेदवारलाई आज निर्वाचन चिह्न प्रदान गरेको छ ।

सय जनाको उम्मेदवारी फिर्ता भएको छ भने एक जनाको उम्मेदवारी रद्द भएको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो ।

कात्तिक ५ गते ३२ जिल्लामा प्रतिनिधिसभा सदस्यतर्फ ३७ र प्रदेशसभा सदस्यतर्फ ७४ पदका लागि जम्मा ८०३ जना उम्मेदवारको उम्मेदवारी मनोनयन दर्ता भएको थियो ।

आज सम्बन्धित जिल्लामा रहेका मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयबाट उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिएको हो ।

आयोगको सूचना प्रविधि महाशाखाबाट प्राप्त जानकारीअनुसार, प्रदेशसभातर्फ ४८१ र प्रतिनिधिसभातर्फ ३२२ उम्मेदवारमध्ये प्रदेशसभाका ६० र प्रतिनिधिसभाका ४० जनाको उम्मेदवारी फिर्ता भएको छ भने प्रदेशसभातर्फ एक जनाको उम्मेदवारी रद्द भएको छ ।

दोलखा जिल्लाका प्रदेशसभातर्फका जनसमाजवादी पार्टीका उम्मेदवार लक्ष्मण विश्वकर्माको उम्मेदवारी रद्द भएको आयोगले जनाएको छ ।

तपाइँको प्रतिक्रिया ।