चुनाव सक्किएपछि एमाले र माओवादी आ-आफ्नो बाटो लाग्छन् : डा. भट्टराई
कपन अनलाइन
गोरखा, ६ कात्तिक । नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले वामपन्थी गठबन्धनमा सम्मिलित दलहरुको रुपान्तरणको सम्भावना कम रहेको बताएका छन् । सोमबार बिहान गोर्खामा आयोजित पत्रकार सम्मेलनमा संयोजक डा. भट्टराईले वाम गठबन्धनका नेताहरुले निषेधकारी र एकमनावादी नीति लिएपछि आफू गठबन्धनबाट बाहिरिनु परेको बताए । एमाले र माओवादीको दाउपेचले वामपन्थी गठबन्धनमा आफू टिक्न नसकेको बताए ।
उनले वाम गठबन्धनभित्र एमाले र माओवादीमै लुछाचुडी रहेको भन्दै पार्टी एकता गरेर अघि बढ्ने भन्दा पनि सत्तामा को हावी हुने भन्ने विषयमा बढी तानातान भएको जिकिर गरे । ‘गोरखा २ मेरो जन्मथलो कर्मथलो हो, म यहाँबाट चुनाव उठनु स्वभाविक हो,’ आफूलाई निषेध गर्न खोजेको गुनासो गर्दै उनले भने, ‘गोरखा २ बाट चुनाव लडन पाउँदैनस् भनेर झमेला झिकियो ।’
संयोजक भट्टराईले चुनाव पछि एमाले र माओवादीबीच पार्टी एकता नहुने समेत जिकिर गरे । उनले भने, ‘सत्ता स्वार्थका लागि तालमेल भएको हो, चुनाव सकेपछि एमाले माओवादी आफ्नो आफ्नो बाटो लाग्छन् ।’ उनले वामपन्थीहरु रुपान्तरण भएर समाजवादी शक्ति बन्नु पर्ने उनले बताए । समृद्धिका लागि कांग्रेस र कम्युनिष्ट भनेर पर्खाल खडा गर्नु उचित नहुनेमा उनले जोड दिए ।
उनले भने, ‘कांग्रेसको वामपन्थीकरण र वामपन्थीहरुको लोकतान्त्रिकरण भए शान्ति र समृद्धिले बाटो लिन्छ ।’ नयाँ शक्ति वामपन्थी लोकतान्त्रिक शक्ति भएको दावी गर्दै उनले दुई शक्तिबीच कित्ताकाट गरेर भन्दा मिलेर देशमा परिवर्तन सम्भव हुने बताए । उनले आफूले गोर्खामा प्रयोग गरेको मोडेल देशकै लागि उदाहरणीय हुने जिकिर गरे ।
भट्टराईले नयाँ शक्तिले आफ्नै पहिचान र अस्तित्वसहित कांग्रेससँग तालमेल गरेर चुनावमा लड्न लागेको स्पष्ट पारे । नयाँ शक्तिको चुनाव चिन्हबारे व्याख्या गर्दै उनले भने, ‘आँखा दुरदृष्टिको पहिचान हो, आफ्नै आँखा चिन्ह लिएर चुनाव लड्छौ ।’ उनले अगाडि भने, ‘आवश्यकता अनुसार वामपन्थी र लोकतान्त्रिक दुवै शक्तिसँग सहकार्य हुन्छ ।’
एक फरक प्रसंगमा उनले सामाजिक सञ्जालको प्रयोग गरेर गलत हल्ला फैलाइएकोमा दुःख व्यक्त गरे । उनले भने,‘मैले कांग्रेसको जरै उखेलेर फाल्नुपर्छ भनेर कहिल्यै भनेको छैन ।’ उनले आफ्नो सपनामा पनि बर्बराउने बानी नभएको भन्दै सोसल मिडियाको प्रयोग गरेर बोल्दै नबोलको कुरामा भ्रम छरेकोमा दुःखेसो गरे ।