साहित्यकार रमेश विकलको ९० औ जन्म जयन्ती मनाइयो
कपन अनलाइन
काठमाडौ, ३ कात्तिक।
साहित्यकार रमेश विकलको ९० औ जन्म जयन्ती सम्पन भएको छ । सो अवसरमा उनको प्रतिमास्थल आरुबारीमा बाल प्रतिभा पुरस्कार पनि वितरण गरिएको छ । विकलको ९०औँ जन्मजयन्तीका अवसरमा रमेश विकल साहित्य प्रतिष्ठान र अभिनव साहित्य समाजले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा स्थलगत कविता लेखन प्रतियोगितामा पहिलो, दोस्रो, तेस्रो र सान्त्वना हुनेलाई सम्मान पत्र सहित पुरस्कार वितरण गरिएको थियो ।
प्रतियोगितामा इष्टपोल माध्यमिक विद्यालयका छात्र रोहन सिम्खडा प्रथम, टाइमलाइन माध्यमिक विद्यालयका श्लेष्मा आचार्य द्वितीय, एभरग्रिन माविका नवीनसिंह धामी तृतीय, हाइली क्रियटिभ माविकी रुसा गिरी र भेनस पब्लिक स्कुल बेँसीगाउँकी निसा साह सान्त्वना पुरस्कार प्राप्त गरेका थिए ।
पहिलो हुनेलाई नगद रु तीन हजार र रु एक हजार ५०० को पुस्तक, दोस्रो हुनेलाई रु दुई हजार नगद र रु एक हजारको पुस्तक, तेस्रो हुनेलाई रु एक हजार नगद र रु ६०० को पुस्तक, शान्त्वना हुने दुवैलाई रु ५०० नगद र रु ५०० को पुस्तक वितरण गरिएको थियो ।
समाजले स्थापना गरेको विकल बाल प्रतिभा पुरस्कार कोषको रकमले प्रत्येक वर्ष स्थलगत कविता लेखन प्रतियोगिता आयोजना गरी पुरस्कृत गर्ने गरिएको छ ।
प्रतियोगितामा उत्कृष्ट हुने विद्यार्थीलाई गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसेले सम्मान पत्र र पुरस्कार वितरण गरेका थिए । कार्यक्रममा बोल्दै नगर प्रमुख चालिसेले विकलले नेपाली साहित्य क्षेत्रमा पुर्याउनु भएको योगदान महत्वपूर्ण रहेको बताएक थिए साथै गोकर्णेश्वर नगरपालिका साहित्य क्षेत्रको सहयोगमा सधै सहयोगी बन्ने धारणा ब्यक्ऩ गरे ।
प्रतिष्ठानको उपाध्यक्षसमेत रहनु भएका कलाकार के के कर्माचार्यले विकल साहित्यकार मात्र नभई सिद्धहस्त चित्रकार पनि भएको बताए ।
कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका प्रमुख सल्लाहकार दीपक रिसाल, समाजका अध्यक्ष वेदमणि घिमिरे लगायतले साहित्यकार विकलको व्यक्तित्व एवं कृतित्वका विविध पक्ष माथि चर्चा गर्नुभयो ।
प्रगतिवादी धाराका साहित्यकार विकलको ‘अविरल बग्दछ इन्द्रावती’, ‘सात सूर्य एक फन्को’ ‘निलगिरि’ लगायत कृति चर्चित छन् । विसं १९८५ कात्तिक शुक्ल द्वितीया अर्थात् भाइटीकाका दिन काठमाडौँको आरुबारीमा जन्म भएको थियो । भाइटीकामा कार्यक्रम गर्न असहज हुने भएकाले अघिल्लो दिन नै तिथि अनुसार उनको सम्झना गरिने गरिएको आयोजकले बताएका छन् ।