दरबारमा एक्ली ‘रानी’ का दुखेसा
कपन अनलाइन
काठमाडौ,कार्तिक १।
यसपटकको तिहार पूर्वराजपरिवारका लागि खल्लो हुने भएको छ । देश शोकमा परेको नाममा दशैँको टीका कार्यक्रम गरिएन । तिहारका लागि पूर्वमुमाबडामहारानी रत्नले कुनै कार्यक्रम नगर्न भनेकी छन् ।
ज्ञानेन्द्रका तीन चेलीमध्ये शोभामात्र जीवित छन् ।
बैंककबाट आइतबार (२९ गते) स्वदेश फर्किएका पूर्वराजा सोही दिन आमालाई भेट्न नारायणहिटीस्थित महेन्द्र मञ्जिल पुगेका थिए । रत्नको बोली पनि उति प्रष्ट छैन । उनको अवस्थाबारे सोधे । डाक्टरले हिँडडुल र भेटघाट एकदमै घटाउन सुझाव दिएको धाइआमाहरुले सुनाए । रत्नका निजी सहयोगी शम्भु अधिकारीले स्वास्थ्यकै गड्बडीका कारण रत्नले तिहार नमान्ने भएको सुनाए । ‘सरकारबाट मर्जी भएअनुसार सुशील राजालाई बिन्ती गरिसकेँ’, शम्भुले ज्ञानेन्द्रलाई बताए । सुशीलसमशेर रत्नका एकमात्र भाइ हुन् । उनी २०१७ देखि ०२४ सालसम्म राष्ट्रिय खेलकुद परिषद्को दोस्रो सदस्य सचिव थिए । रत्न ८९ वर्षकी भइन् ।
अन्तिम पटक असार २ गते नर्भिक अस्पताल भर्ना गरिएको थियो । त्यसयता अस्पताल लैजान पनि समस्या भएका कारण नारायणहिटीमै चिकित्सक बोलाउने गरिएको छ । ३० हेक्टर क्षेत्रफलमा रहेको नारायणहिटी दरबारको पर्खालभित्रै पश्चिमतर्फको गेट छेउमा करिब पाँच रोपनी क्षेत्रफल ओगटेको महेन्द्र मञ्जिलमा आजकल रत्नसँग नियमित रहने मानिसहरुको संख्या १० देखि १५ जनामात्रै छ । आपतकालीन अवस्थामा खबर गर्नका लागि दुई जना कर्मचारीलाई २४ सैँ घण्टा खटाइएको छ । तिनीहरुको तलब ज्ञानेन्द्रले व्यहोर्दै आएका छन् ।
राणा प्रधानमन्त्री जुद्धशमशेरका नाति जर्नेल हरिसमशेरका दुई छोरा र आठ छोरीमध्ये अन्तरी हुन्, रत्न । दिदी हरिसमशेरकी काहिँली छोरी इन्द्रको विवाह जुद्धशमशेर श्री ३ हुँदै युवराज महेन्द्रसँग भएको थियो । तीन छोरा र तीन छोरीकी आमा इन्द्रको सातौँ पटकको गर्भपतन गराउन खोज्दा २००७ सालमा निधन भएको थियो । गर्भपतनको कारण अहिलेसम्म नखुले पनि दरबारका भित्रियाहरू पहिल्यै ६ छोराछोरी भइसकेकाले सातौँ सन्तान आवश्यक नभएको महसूस गरेका महेन्द्रले नै औषधी खुवाएपछि अत्यधिक रक्तस्राव भएर मृत्यु भएको बताउँछन् । त्यसपछि रत्नसँग प्रेमसम्बन्ध गाँसियो र विवाह भयो । २३ वर्षको उमेरमा विवाह गरेर २५ वर्षमा रानी बनेकी उनी २०२८ मा महेन्द्रको निधन भएपछि ४२ वर्षमै विधवा बनिन् । ४७ वर्षदेखि महेन्द्र मञ्जिलमा एक्लै बस्दै आएकी छन् । अहिले पनि सञ्चो नहुँदा सकेसम्म अस्पताल नलैजान र डाक्टर नै बोलाइदिन आग्रह गर्छिन् । भदौ ४ देखि ८९ वर्ष लागेकी हुन् । माइतीतिर आफू र भाइ सुशीलसमशेर मात्र जीवित छन् ।
आजको जनआस्था साप्ताहिक बाट समाचार साभार गरिएको छ।