के अष्ट्रियाले विश्वकै कान्छो नेता पाउला?
कपन अनलाइन
एजेन्सी, २९ असोज । युरोपेली मुलुक अष्ट्रियाका मतदाताले आइतबार आमनिर्वाचन अन्तर्गत मतदान गर्दैछन् ।मत सर्वेक्षणहरुले कन्जरभेटिभ पिपल्स पार्टीका नेता एवं वर्तमान विदेशमन्त्री जेबास्टियन कुर्ट्सलाई अग्रस्थानमा देखाएका छन् भने चरम दक्षिणपन्थी फ्रीडम पार्टी र सोसल डेमोक्रेट्सबीच दोस्रो स्थानका लागि प्रतिस्पर्धा हुने देखिन्छ ।
भावी गठबन्धन सरकारमा चरम दक्षिणपन्थी दल सरकारमा सामेल हुने उत्कृष्ट अवसर भएको बताइएको छ । बीबीसीका एकजना संवाददाता का अनुसार मत सर्वेक्षणहरु सही साबित भए अष्ट्रियामा ठूलो राजनीतिक परिवर्तन देखिनेछ ।एक दशकभन्दा लामो समयदेखि त्यहाँ सोसल डेमोक्रेट्सले पिपल्स पार्टीसँगको गठबन्धनको नेतृत्व गर्दै आएको छ ।तर, अब मतदाताहरुको झुकाव दक्षिणपन्थीहरुतर्फ सरेको देखिन्छ ।
हाइन्ट क्रिस्टियन स्टार्खाले कुर्ट्सले आफ्ना नीतिहरु चोरेको आरोप लगाएका छन् । आप्रवासनप्रति कडा नीति लिने बताएका कारण ३१ वर्षीय कुर्ट्सले बढी समर्थन पाइरहेका छन् । मत सर्वेक्षणहरुका अनुसार चुनावमा उनको पार्टीले पहिलो स्थान हासिल गर्नेछ । दोस्रो स्थानका लागि सोसल डेमोक्रेट्ससँग प्रतिस्पर्धा गर्ने चरम दक्षिणपन्थी फ्रीडम पार्टीले कन्जरभेटिभहरुसँग गठबन्धन गर्नसक्छ ।
गत वर्षको राष्ट्रपतीय चुनावमा फ्रीडम पार्टीका उम्मेदवार झिनो मत अन्तरले पराजित भएका थिए । गत मे महिनामा पिपल्स पार्टीका नेता चयन भएका कुर्ट्सले शरणार्थीहरु युरोप पुग्ने बाटोहरु बन्द गर्ने र शरणार्थीलाई दिइने सुविधाहरुमा कटौती गर्ने बताउँदै आएका छन् ।मत सर्वेक्षण हरुले देखाएअनुसार आमचुनावमा कुर्ट्सको पार्टी विजयी भए उनी विश्वकै कान्छो सरकार प्रमुख हुनेछन् ।
बिबिसीबाट