रोनाल्डो, लियोनल मेसी र नेमार फिफा वर्ष फुटबलरको अन्तिम तिनमा

रोनाल्डो, लियोनल मेसी र नेमार फिफा वर्ष फुटबलरको अन्तिम तिनमा

कपन अनलाइन 

काठमाडौ,असोज ९।

फिफा वर्ष फुटबलरको उपाधिका लागि यस वर्ष पनि क्रिस्टियानो रोनाल्डो, लियोनल मेसी र नेमार नै अन्तिम तीनमा परेका छन् । रोनाल्डो, मेसी र नेमार सो अवार्डका लागि अन्तिम तीनमा परेको यो लगातार तेस्रो वर्ष हो । फिफाले गत वर्षको प्रदर्शनलाई आधार मानेर प्रदान गर्ने अवार्डका लागि शुक्रबार लन्डनमा अन्तिम तीन खेलाडीको नाम सार्वजनिक गर्दा रोनाल्डो, मेसी र नेमार पर्न सफल भएका हुन् ।

यसपटक पनि अवार्ड जितेको अवस्थामा रोनाल्डोले सर्वाधिक पाँचपटक अवार्ड जित्ने मेसीको कीर्तिमानसँग बराबरी गर्नेछन् । अहिलेसम्म मेसीले सर्वाधिक पाँचपटक अवार्ड जितेका छन् भने रोनाल्डोले चारपटक । नेमारले अहिलेसम्म अवार्ड जित्न सकेका छैनन् । फिफाले अक्टोबर २३ मा लन्डनको पल्लाडियम थिएटरमा विशेष समारोहका बीच विजेताको घोषणासहित अवार्ड प्रदान गर्ने भएको छ ।

गत सिजन रोनाल्डोले आफ्नो क्लब रियल म्याड्रिडलाई घरेलु लिग र युरोपियन च्याम्पियन्स लिगको उपाधि दिलाउँदा मेसीले बार्सिलोनाका लागि कोपा डेल रेको उपाधि मात्रै जितेका थिए । त्यसबाहेक मैदानबाहिर गत सिजन यी तीनै खेलाडीले स्पेनमा कर छलीको आरोपमा अदालती झमेला बेहोर्नु परेको थियो ।

महिलातर्फ यसपटक पनि कार्ली ल्वोइड अन्तिम तीनमा परेकी छन् । पछिल्लो दुई वर्ष लगातार अवार्ड जितेकी अमेरिकन मिडफिल्डरले यसपटक पनि जितेको अवस्थामा ह्याट्रिक गर्नेछिन् । ल्वोइडलाई नेदरल्यान्ड्सकी लिइक मार्टेन्स र भेनेजुएलाकी १८ वर्षीया डिइना क्यास्टेलानोसले अवार्डका लागि चुनौती दिएकी छन् । मार्टेन्सले गत वर्ष नेदरल्यान्ड्सलाई युरोपियन च्याम्पियनसिपको उपाधि दिलाएकी थिइन् भने क्यास्टेलानोसले भेनेजुएलालाई यू-१७ दक्षिण अमेरिकन च्याम्पियनसिपको उपाधि दिलाएकी थिइन् ।

प्रशिक्षकतर्फ युभेन्टसका मासिमिलियानो अलेग्री, चेल्सीका एन्टोनियो कोन्टे र रियल म्याड्रिडका जिनेदिन जिदान अन्तिम तीनमा परेका छन् । महिला प्रशिक्षकतर्फ डेनमार्क राष्ट्रिय टोलीकी प्रशिक्षक निल्स निइल्सेन, लियोनकी जेरार्ड प्रेच्युर र नेदरल्यान्ड्स राष्ट्रिय टोलीकी सरिना विग्मान अवार्डका लागि अन्तिम तीनभित्र परेका छन् ।

तपाइँको प्रतिक्रिया ।