दूधकोशी, सुनकोशी पुलले विकासको ढोका खोलियोः प्रधानमन्त्री

दूधकोशी, सुनकोशी पुलले विकासको ढोका खोलियोः प्रधानमन्त्री

कपन अनलाइन 

गाईघाट(उदयपुर), भाद्र ३१  ।

प्रधानमन्त्री शेरबहादुर देउवाले उदयपुरको चौदण्डी गढी नगरपालिकाको रानीटारघाट र भोजपुरको बीचमापर्ने सुनकोशी दूधकोशी पुलको आज यहाँ एक समारोहकाबीच शिलान्यास गरे । सो अवसरमा प्रधानमन्त्री देउवाले सो पुलको निर्माणबाट खोटाङ, उदयपुरको विकासको ढोका खोलिएको बताए ।

उनले पूर्वी पहाडी क्षेत्रको यातायातको विकास र अन्य आर्थिक विकासलाई समेत उक्त पुलले भविष्यमा ठूलो टेवा पर्याउने र यसलाई अब सबैले सकारात्मक रुपमा लिनुपर्ने धारणा राखे । उक्त पुलको लम्बाइ २०० मिटर रहेको छ भने चौडाइ साढे दश मिटर रहेको चौदण्डी पर्यटन विकास समितिका अध्यक्ष रोहित तामाङले बताए ।

उक्त पुल राष्ट्रिय योजना आयोगको रु २२ करोड २५ लाखको लागतमा निर्माण हुनगइरहेको छ भने पुलको निर्माण कम्पनी रसुवा स्वच्छन्द पप्पु जेभी काठमाडाँैले निर्माण कार्य शुरु गर्न लागेको हो । २०७६ साल चैतमा उक्त पुलको निर्माण कार्य पूरा हुने बताइएको छ । उक्त कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायातमन्त्री वीरबहादुर बलायर, पूर्व सूचना तथा सञ्चारमन्त्री शेरधन राई तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा नारायण खड्काले समेत सम्बोधन गरेका  थिए ।

आजै प्रधानमन्त्री देउवाले उदयपुरको त्रियुगा नगरपालिका १४ को खाँबुको धाप्लाङटार खोटाङ सडकखण्डको सुनकोशी नदीमापर्ने अर्को सुनकोशीको पुलको पनि शिलान्यास गर्न लागेका  कुरा नेपाली काँग्रेस उदयपुरका पूर्व सभापति हिमाल कार्कीले बताए ।

तपाइँको प्रतिक्रिया ।