मलेसियालाई हराउँदै नेपाल फाइनलमा, एसिया कपको लागि छनोट

मलेसियालाई हराउँदै नेपाल फाइनलमा, एसिया कपको लागि छनोट

कपन अनलाइन 

काठमाडौं, ३१ भदौ । एसीसी यू-१९ इस्टर्न रिजन प्रतियोगिताको सेमिफाइनलमा नेपालले आयोजक मलेसियालाई पराजित गर्दै फाइनलको यात्रा तय गरेको छ । शनिबार बिहान भएको खेलमा नेपाल १० विकेटले विजयी रह्यो ।

टस जितेर पहिलो फिल्डिङ रोजेको नेपालले मलेसियालाई १ सय २१ रनमै अलआउट गर्न सक्यो । नेपालविरुद्ध फितलो प्रदर्शनमा उत्रिएको घरेलु टोलीका लागि ओपनर नालिन डे सिल्भाले सर्वाधिक ३९ रन जोडे । यसैगरी कप्तान विरानदीप सिंहले २५ रनको योगदान दिए ।

नेपालको जितका लागि कप्तान दीपेन्द्र सिंह ऐरीले ५ विकेट लिए । यसैगरी पवन सर्राफले २ विकेट र रोहित कुमार पौडेल, शाहब आलम र सन्दिप लामिछानेले १/१ विकेट लिन सफल भए ।

मलेसियाविरुद्ध जवाफी ब्याटिङमा उत्रिएको नेपालका ओपनरद्वय सन्दिप सुनार र आसिफ शेखले उत्कृष्ट ब्याटिङ गर्दै टोलीलाई १० विकेटको सहज जित दिलाए। सन्दिपले ७७ बलमा ८ चौकाको मदतले अविजित ५१ रन बनाए भने आसिफले पनि अर्धशतकीय पारी खेलेर योगदान दिए ।

उनी ६५ बलमा ८ चौका र १ छक्का प्रहार गर्दै ५० रन जोड्न सफल भएका हुन् ।२४ औं ओभरमा लक्ष्य पुरा गरेको नेपाल फाइनलमा प्रवेश गरेको छ । फाइलनमा प्रवेशसँगै नेपाल एसिया कपमा पनि छनोट भएको  छ ।

तपाइँको प्रतिक्रिया ।