पुनरावलोकनका लागि नवाज सरिफका आग्रह अस्वीकार

पुनरावलोकनका लागि नवाज सरिफका आग्रह अस्वीकार

कपन अनलाइन 

इस्लामाबाद, ३१ भदौ । आफूलाई अपदस्थ गरिएको बिषयलाई लिएर पूर्वप्रधानमन्त्री नवाज सरिफले दिनु भएको सबै पुनरावलोकन आग्रहलाई पाकिस्तानको सर्वोच्च अदातलले खारेज गरिदिएको छ । बहूचर्चित पानामा पेपर्स भ्रष्टाचार काण्डमा उहाको नाम समेत मुछिएको सार्वजनिक भएपछि उहाँलाई सर्वोच्च अदालतले प्रधानमन्त्री पदको लागी अयोग्य ठहर गरी अपदस्थ गर्ने आदेश जारी गरेको थियो ।

साथै, उहाँमाथि स्रोत नखुलाई विदेशमा अकूत व्यक्तिगत सम्पत्ति राखेको आरोप पनि लगाइएको थियो । उहाँले यो आरोपको बारम्बार खण्डन गर्दै आएका  ता पनि सर्वोच्च अदालतको फैसलापश्चात् तत्कालै प्रधानमन्त्री पदबाट राजिनामा दिई देशमा उत्पन्न हुनै लागेको राजनीतिक अस्थिरतालाई बुद्धिमानीपूर्वक सफल अवतरण गराउनुका साथै पूर्णरुपमा प्रजातान्त्रिक निकासको बाटो खोलदिएका थिए ।

गत बर्ष नै सार्वजनिक भएको पानामा पेपर्स भ्रष्टाचार काण्डमा मुछिएको आरोप लागेपछि प्रधानमन्त्री सरिफ र उनको परिवारविरुद्ध अनुसन्धानको क्रममा गत जुलाईको अन्त्यतिर सरिफलाई सर्वोच्च अदालतले पदबाट हट्न आदेश दिएको थियो । पाकिस्तानको ७० बर्षे इतिहासमा आफ्नो पूरा कार्यकाल नसकिदै पदबाट हट्नु परेको उनि १५औ प्रधानमन्त्री हुन् । उनलाई अत्यन्त बिलासी जीवन ब्यतीत गर्ने र बेलायतको लन्डनमा गोप्य रुपमा अकूत सम्पत्ति राखेको भनी सन्चार माध्यमहरुले बारम्बार आलोचना गर्दै आइरहेका थिए ।

पूर्वप्रधानमन्त्रीले पुनरावलोकनका लागि दिएको सबै निवेदन खारेज गरिएको सर्वोच्च अदालतका न्यायाधिश असिफ साएद खोसाले बताएका छन् । पुनरावलोकनका लागि सरिफले दिएको निवेदन जाँचबुझ गर्न पाकिस्तानी सर्बोच्च अदालतमा गठित पाँच सदस्यीय न्यायिक समितिमा न्यायाधिश खोसा एकजना सदस्य समेत हुन् ।

त्यसैगरी, पूर्वप्रधानमन्त्री सरिफ, उनका दुईजना पुत्रहरुः हुस्सेन र हसन, तथा पुत्री मार्यामबिरुद्ध पनि भ्रष्टाचारजन्य अपराधको आरोपमा मुद्दा दायर गर्न सर्वोच्च अदालतले पाकिस्तानको भ्रष्टाचार तथा अख्तियार दुरुपयोग नियन्त्रण निकाय – नेशनल एक्काउन्टेबिलिटि ब्युरोका नाममा छुट्टै आदेश समेत जारी गरेको छ ।

पाकिस्तानको सर्वोच्च अदालतले प्रधानमन्त्री सरिफलाई भ्रष्टाचारमा संलग्न भएको अभियोग लगाई सरकारमा बस्ने नैतिकता गुमाएको भन्ने आसयको प्रारम्भिक फैसला सुनाएपछि गत महिना उनले राजधानी इस्लामाबाददेखि गृहनगर लाहोरसम्म आफ्ना हजारौं समर्थकहरुको लामो जुलूस निकाल्न लगाई शक्ति प्रदर्शन गर्ने कसरत समेत गरेका  थिए ।

पूर्वप्रधानमन्त्री सरिफको सांसद पद समेत खारेज भएपछि लाहोर निर्वाचन क्षेत्रमा हुन गई रहेको उप–निर्वाचनको मुखैमा आएको सर्बोच्च अदालतको यस आदेशले सरिफको पार्टीलाई धक्का पुग्ने अनुमान गरिएको छ । सरिफपत्नी काल्सुमले पनि लाहोर निर्वाचन क्षेत्रबाट उम्मेदवारी दिएकी छिन् । निर्वाचनका दृटिकोणले लाहोरको सम्पूर्ण इलाका सरिफ तथा उनको पार्टीको सुरक्षित पकड क्षेत्र मानिन्छ । पञ्जाव प्रान्तमा जन्मिनु भएका नवाज सरिफ पाकिस्तानमा तीन पटक प्रधानमन्त्री भैसकेका  छन ।

तपाइँको प्रतिक्रिया ।