उत्तर कोरियामाथि राष्ट्रसंघको थप प्रतिबन्ध

उत्तर कोरियामाथि राष्ट्रसंघको थप प्रतिबन्ध

कपन अनलाइन 

संयुक्त राष्ट्रसंघ, २७ भदौ । संयुक्त राष्ट्रसंघले उत्तर कोरियाका बिरुद्धमा थप तथा कडा नाकाबन्दी लगाएको छ । सोमबार संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदले उत्तर कोरियाका विरुद्धमा नाकाबन्दीको कानुन पारित गरेको हो । उत्तर कोरियाका विरुद्धमा संयुक्त राष्ट्रसंघले यसअघि नै उक्त नाकाबन्दीको प्रस्ताव गरेको भए पनि सर्वसम्मत हुन सकेको थिएन । तर संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदमा सोमबार भने सर्वसम्मत निर्णय भएको छ ।

उनले उत्तर कोरियाले पछिल्लो समयमा गरेको आणविक परीक्षणको विरुद्धमा हाल कायम राखेको आर्थिक लगायतको नाकाबन्दीलाई थप कडा बनाउने बारेमा तयारी सुरु गरेको जानकारी यसअघि नै समाचारमा उल्लेख गरिएको थियो । संयुक्त राज्य अमेरिकाले प्रस्ताव गरेको सो नाकाबन्दीको कानुनमा यसअघि रुस र चीन सहमत हुन नसकेपछि ढिलाई भएको थियो । ती दुई देशले विरोध नै नगरेपनि नाकाबन्दीको कानुनमा सहमति जनाएका थिएनन् ।

सोमबार उनीहरुको समेत सहमति र उक्त परिषद बैठकको सर्वसम्मतिमा सो कानुन पारित गरिएको हो । उत्तर कोरियाले बारम्बार यस्ता क्षेप्यास्त्रहरू परीक्षणगर्दै आएकाले उसका विरुद्धमा यो कानुन ल्याइएको अमेरिकाले जनाएको छ । उत्तरले गत हप्तामात्र एक शक्तिशाली हाइड्रोजन बम नै परीक्षण गरेपछि विश्वमा उसका विरुद्धमा जनमत उठिरहेको बताइन्छ । केही समयमात्र अघि पनि उसले अन्तरमहादेशीय क्षेप्यास्त्र हानेको थियो ।

तर यस पटकको परीक्षण यसअघिको भन्दा करिब दश गुणा बढी शक्तिशाली रहेको दक्षिण कोरियाले बताएको छ । उसले भनेको छ– उत्तर कोरियाले यसअघि गरेको पाचौँ पटकको परीक्षणभन्दा यो कम्तीमा पनि दश गुणा बढी शक्तिशाली छ । विश्व समुदाय एवम् संयुक्त राष्ट्रसंघले व्यापक मात्रामा विरोध गर्दागर्दै पनि उत्तर कोरियाले आणविक क्षेप्यास्त्रहरु हान्ने गरेको छ । उसले सन् २००६ देखि नै निरन्तर रुपमा यस्तो परीक्षण गर्दै आएको छ ।

तपाइँको प्रतिक्रिया ।