रुसलाई कन्सुलेट तथा न्यूयोर्क र वाशिङटनमा रहेका कार्यालयहरु बन्द गर्न अमेरिकी आदेश
कपन अनलाइन
अमेरिका,१६ भदौ । अमेरिकाले रुसलाई स्यान फ्र्यान्सिस्कोमा रहेको कन्सुलेट र दुईवटा व्यापार नियोगहरु बन्द गर्न आदेश दिएको छ।कन्सुलेट तथा न्यूयोर्क र वाशिङटनमा रहेका कार्यालयहरु शनिबारदेखि बन्द हुनुपर्ने बताइएको छ।
रुसले गत महिना मस्कोबाट अमेरिकी कर्मचारीहरुलाई फिर्ता पठाइदिएपछि अमेरिकाको विदेश मन्त्रालयले पछिल्लो कारवाहीको घोषणा गरेको हो। यी घटनाक्रम रुसमाथि अमेरिकी चुनावमा हस्तक्षेप र क्राइमियाप्रति रुसको व्यवहारलाई कारण देखाएर रुसमाथि थप नाकाबन्दी लगाउँदै ३५ जना रुसी कुटनीतिज्ञलाई अमेरिकाले फिर्ता पठाएपछिका हुन्।
राष्ट्रपति बराक ओबामाले गत डिसेम्बरमा दुई कार्यालय बन्द गर्दै त्यसरी कुटनीतिज्ञहरु फिर्ता पठाइदिएका थिए।शुरुमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले प्रतिक्रिया नजनाएपनि पछि जुलाइ अन्त्यमा ७५५ जना अमेरिकी कर्मचारीलाई फिर्ता पठाइदिएका थिए।
एकजना अमेरिका वरिष्ठ प्रशासकले भने- कन्सुलेट र व्यापारिक कार्यालयहरु बन्द गरिएपनि रुसी कर्मचारीहरुले अमेरिका छोड्नुपर्ने छैन।
ती सम्पत्ति रुसकै रहिरहने तर उसले प्रयोग गर्न नपाउने बताइएको छ। यो निर्णय पछि दुवै देशका तीन तीनवटा कन्सुलेट बाँकी रहेका छन्।
रुसी विदेश मन्त्री सेर्गेइ लाभरोभले अमेरिकी विदेश मन्त्री रेक्स टिलरसनसँग बिहीबार फोन गरेर द्वीपक्षीय सम्बन्धमा तनाव बढ्दै गएकोमा दुख व्यक्त गरेका छन्।नयाँ अमेरिकी निर्णयको अध्ययन गरेर प्रतिक्रिया दिने रुसी विदेश मन्त्रालयको विज्ञप्तीमा जनाइएको छ।