गोकर्णेश्वर नगरपालिका प्रमुखका ३ प्राथमिकता र योजना
कपन अनलाइन
काठमाडौ,भाद्र ११ ।
गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसे लामो समय देखी समाजसेवा र राजनीतिक क्षेत्रमा क्रियाशील रहेका व्यक्ति हुन् । २०७४ बैशाख ३१ गते सम्पन्न स्थानीय तहको निर्वाचनमा गोकर्णेश्वर नगरपालिका प्रमुखमा निर्वाचित चालिसेका ३ प्राथमिकता , ३ योजनाहरु र १ विशेष योजनाको वारेमा तयार पारिएको सामग्री नगर प्रमुख चालिसेकै शव्दमा यहाँ प्रस्तुत गरिएको छ ।
गोकर्णेश्वर नगरपालिकाका प्रमुखका ३ प्राथमिकता
गोकर्णेश्वर नगरपालिका प्रमुखका धेरै कामहरु मध्य तल प्रस्तुत गरिएका कामहरु पहिलो प्राथमिकतामा परेका छन । जनमत बाट विजयी बनेकोले जनताको हित र सेवा पहिलो काम र आफ्नो निष्ठाको सम्मान रहेको बताउने प्रमुख चालिसेले यही कुरालाई ध्यानमा राखेर प्राथमिकता चयन गरेका छन ।
प्राथमिकता १: आन्तरिक प्रशासन सुधार र सुशासन
नगरपालिका भित्र सुसाशन भएन भने त्यहाँ कुनै पनि कार्यसम्पादन राम्रो संग हुदैन र त्यसले जनतालाई आफ्ना प्रतिनिधि नगरपालिकामा भएको अनुभूति पनि कदापी दिदैन त्यसैले यस नगरपालिकाको पहिलो प्राथमिकतामा यो परेको हो । जनताको काम तत्काल गर्न सकिएन भने हामीले प्राप्त गरेको मतको अपमान हुन्छ त्यसैले आन्तरिक प्रशासन सुधार र कार्य सम्पादनमा चुस्ततालाई ध्यानमा राखेको छु । वर्षौ देखी यहाँ विकृति थुप्रिएको छ जसलाई परिवर्तन गर्न अलि कति चुनौती देखिएको थियो त्यो अहिले सुधार हुदैछ । कर्मचारीको समय , शैली र कार्यसम्पादन यो तिन वटा आधारमा कर्मचारीको मुल्यांकन गरिरहेको छु जो यसमा खरो उत्रिन्छ त्यो यस नगरपालिकामा राम्रो स्थान पाउछ नत्र हामीले विकल्प खोज्न थाल्ने छौ ।
यसका लागी लामो समय लाग्ने काममा टोकन प्रणाली लागु गरिएको छ जसले समयमै कार्यसम्पादन गर्न सजिलो बनाईएको छ अन्य काममा जनताले अनावस्यक दुख पाएमा सिधै प्रमुख संग गुनासो गर्ने व्यवस्था पनि गरेका छौ । यदी कार्यसम्पादन गरे वापत कसैले कुनै किसिमका आर्थिक र अन्य फाइदा लिएको भेटिएमा सिधै कारवाही गर्ने म यसै मिडिया मार्फत पनि जानकारी दिन चाहन्छु ।
प्राथमिकता नं २: योजना समयमै सम्पन्न गर्ने
मेरो दोश्रो प्राथमिकता भनेको जुन योजना हामीले छुटाएका छौ तयसको सम्पादन यथासक्य चाडो गर्ने रहेको छ । प्रत्येक वडालाई ४ करोडको दरले रकम विनियोजन गरिएको छ जसमा जनताले माग गरेका योजनाहरु छन । ति योजना समयमा सम्पन्न गर्न सकेनौ भने जनप्रतिनिधि आएको महसुस जनताले गर्ने छैनन् । त्यस कारणले त्यस्ता योजनाहरु मैले आफ्नै प्रत्यक्ष निगरानीमा वडा अध्यक्षहरुको संलग्नतामा सम्पन्न गर्ने योजना बनाएको छु । यो हाम्रो प्राथमिक काम पनि हो साथै जनमतको सहि सम्मान पनि त्यहि हो भन्ने लाग्छ । योजनाको विवरण र प्रकृति हेरेर समय तालिका निर्माण गरि योजना अगाडी बढाउने तयारी हामीले गरेका छौ ।यस्ता योजनाको नियमित अनुगमन गर्ने संयन्त्र तयार गर्नुका साथै जनतालाई पनि यस्ता योजना समयमा सपन्न गर्न सहयोगको आव्हान गर्नेछौ । हाम्रो दोश्रो प्राथमिकता जनताको कर बाट संकलित रकम उनीहरुको लागी नै प्रभावकारी ढंगले खर्च गर्ने हो । जसरी हामीले मूल सडकका खाल्डा पुर्न नियमित प्रयोग हुने भन्दा फरक ठुलो रोडा प्रयोग गर्यौ त्यसले बाटोको सुधारमा निकै सहयोग गर्यो अन्य स्थानमा पनि त्यहि तरिकाले दिगो विकासको अवधारणा अनुरुप योजना सम्पन्न गर्ने हाम्रो लक्ष्य छ ।
प्राथमिकता ३ : फोहोरमैला व्यवस्थापन
नगरपालिकामा फोहोर मैला व्यवस्थापन गर्ने काम हाम्रो अर्को प्राथमिकता हो । यसका लागी नगरपालिकाको गाडी साथै ठेकेदारहरु संग उपलव्ध श्रोत तथा साधनको उचित प्रयोग हामीले गरिरहेका छौ । अझै यसलाई प्रभावकारी बनाउदै लैजानु पर्ने छ जसका लागी हामी छलफलमा छौ ।अहिले नगरपालिकाको गाडी २४ घण्टा कुदिरहेको छ र ठेकेदारहरुलाई पनि राम्रो संग कार्य सम्पादन नगरे सम्झौता रद्द गर्ने चेतावनी पनि नगरपालिकाले दिईसकेको छ ।
यी माथिका ३ प्राथमिकता रहेको गोकर्णेश्वर नगरपालिकाले ३ वटा मुख्य योजना पनि तय गरेको नगरपालिका प्रमुख सन्तोष चालिसेले बताए । गोकर्णेश्वर नगरपालिकाको प्रमुख योजनाहरु निम्न रहेका छन ।
योजना नं १ : गोकर्णेश्वर बहुउदेश्यीय भवन
गोकर्णेश्वर नगरपालिकाको जोरपाटीमा गोकर्णेश्वर बहुउदेश्यीय भवन निर्माण गर्ने हाम्रो पहिलो योजना रहेको छ । यसका लागी तयारी स्वरूप १ करोड रकम विनियोजन गरी सकिएको छ । यो भवन सुविधा सम्पन्न हुने छ जसमा नगरपालिका कार्यालय ,अन्य सरकारी कार्यालय र ब्यापारिक कार्यालयहरु रहनेछन । यसमा पार्किंग ,ब्यांक र अन्य अत्यावस्यक सुविधा सबै हुनेछन ।७ रोपनी जग्गामा ७ तले भवन निर्माण हुनेछ जुन सायद काठमाडौका नगरपालिका भवन मध्ये नमुना भवन हुनेछ ।यसको तयारी हामीले थाली सकेका छौ प्राविधिक अध्ययन हुदै छ हामी यस वर्षको अन्तिम सम्म जग हाल्ने गरी हामी लागिरहेका छौ ।
योजना नं २ : हरियाली पार्क
यो हाम्रो अर्को महत्वपूर्ण योजना रहने छ । यसलाई हामीले अहिले हरियाली पार्क योजना भने पनि वडाका स्थान अनुसार नामकरण गर्ने सोच हामीले बनाएका छौ । नगरपालिका का ९ वटै वडामा २ ठाउमा यस्ता पार्क निर्माण गरिने छ जसमा इन्टरनेट सुविधा उपलव्ध हुनेछ । त्यस स्थानमा हामीले विशेष ढुंगा छाप्ने छौ भने बस्ने स्थानको पनि व्यवस्था हुनेछ । यसमा वन मन्त्रालयको सहयोगमा ५ फिट भन्दा माथिको विरुवा रोपिने छन । यस पार्कमा जनताले आएर पत्रपत्रिका पढ्ने ,आफ्ना योजना ,अनुभव साटफेर गर्ने र सामुहिक रुपमा वडाका गतिविधिका वारेमा छलफल गर्न सक्नेछन । यसको लागी वडा हरु संग स्थान छनौट गरी विवरण माग गरिसकिएको छ ।
योजना नं ३ : अत्याधुनिक सौचालय
हाम्रो अर्को योजना नगरपालिका का प्रत्येक वडामा कम्तिमा एउटा अत्याधुनिक सौचालय निर्माण गर्ने रहेको छ । यो सामान्य किसिमको सार्वजनिक सौचालय हुने छैन यसमा विविध सुविधाहरु रहेछन । सौचालयका साथमा त्यहा स्नान घर , क्याफे , कपाल काट्ने पसल,आराम कक्ष आदी रहने छन ।उपत्यका भित्र हामीले यस्ता सौचालय देखेका छैनौ त्यसले यस नगरपालिकालाई पर्यटन केन्द्र बनाउन यो अत्यावस्यक छ । विदेसीले पनि हाम्रो नगरपालिका आउदा सहज महसुस गर्नु पर्दछ जसमा यो पहिलो शर्त हो । ।यसका लागी प्रत्येक वडालाई २० लाख रकम विनियोजन गरी सकिएको छ ।
गोकर्णेश्वर नगरपालिकाको विशेष योजना : नगरपालिकाको डिजिटल पार्श्व चित्र (Profile) निर्माण
हाम्रो नगरपालिकाको अर्को निकै महत्वपूर्ण योजना भनेको यसको पार्श्व चित्र निर्माण रहेको छ ।यसको लागी ५० बुदामा हामीले तथ्यांक संकलनको योजना बनाएका छौ जसमा नगरवासी सबैको पूर्ण विवरण संकलन हुनेछ र एक क्लिकमा ति जानकारी जो कसैले प्राप्त गर्नेछन । यसमा निकै साना साना कुराहरुको विवरण संकलन गर्ने छौ जस्तै पेसा ,व्यवसाय ,परिवार संख्या ,रक्त समुह , घरहरुको नक्सा ,स्थान आदि रहने छन । यसको मुख्य विन्दु क्षेत्र नं ३ को चुचेपाटीलाई मानेर सडकहरुको नामकरण गरिने छ । उदाहरणको लागी चुचेपाटी- सुन्दरीजल सडक नं १ भयो भने यसबाट जाने सहायक बाटो सडक नं १ “क” हुनेछन । यहि सडकको आधारमा नगरका प्रत्येक घरहरुलाई नम्बर प्रदान गरिने छ । यो निकै महत्वकांक्षी र खर्चिलो त् छ तर पनि यो सम्पन्न गर्यौ भने नगरपालिका वासीलाई यसले ठुलो मद्दत पुग्ने छ । रोजगार ,बेरोजगार ,व्यवसाय ,बौदिक बर्गको विवरण ,सामाजिक संघ संस्था आदिको सम्पूर्ण विवरण एक क्लिकमा प्राप्त हुदा यहा कुनै काम गर्न चाहनेले आफ्नै नगरका जनशक्तिलाई उपयोग गर्ने वातावरण बन्ने छ । विस्वको जुनसुकै ठाउँ बाट हाम्रो नगरपालिकामा आउने मान्छेले आफ्नो एउटा औला प्रयोग गरेर भनेको स्थानमा पुर्याउने वातावरण बनाउन यो योजना अगाडी सार्ने तयारीमा छौ ।