कपनको सर्वाधिक धनराशीको फुटबल प्रतियोगिता आयोजकले नै जित्यो
कपन अनलाइनकपनमा भएको अहिलेसम्मको सबैभन्दा ठूलो धनराशीको भनिएको फुटबल प्रतियोगिता आयोजक कपन बेख सिद्धेश्वर युवा समूहले जितेको छ । फाइनलमा आयोजककै दुइ टिम पुगेको थिए । नववर्षको दिन पारेर राखिएको फाइनल खेलमा आयोजक “बि” ले “सि” लाई ३–० हराएर उपाधि हात लगायो । उपाधिका साथ विजेता टिमले नगद रु. २५,००0 सहित ट्रफि र मेडल प्राप्त गर्यो भने उपविजेता टिमले नगद १५,००० प्राप्त गर्यो । बिजेता बि समूहका १० नं. जर्सि लगाउने उमेश लामा प्रतियोगिताका उत्कृष्ट खेलाडी घोषित गरिएको थियो । कपन तथा आसपासका २८ टिम सहभागि सेभेन ए साइड फुटबललाई कपन बेख सिद्धेश्वर युवा समूहले गत चैत्र २४ गतेदेखि आयोजना गरेको थियो ।
नववर्षको दिन आयोजना गरिएको फाइनल खेलका प्रमुख अतिथि एमाओवादी नेता नन्द किसोर पुन पासाङ थिए । विशेष अतिथिको रुपमा फुटबल खेलाडि नविन न्यौपानेलाई बोलाइएको थियो । कपन ३ को ह्याण्डबल मैदानमा खेलाइएका खेलहरुमा दर्शकहरुले उल्लेखनीय उपस्थिति थियो ।
मोहन थापा अध्यक्ष रहेको कपन बेख सिद्धेश्वर युवा समुहले विकेन्द्रित रहेका युवाहरुलाई केन्द्रिकृत बनाउन खेल तथा अन्य सामाजिक गतिबिधिमा संलग्न रहने उद्धेष्य लिएको छ । संस्थाले आयोजना गरेको पहिलो कार्य नै सफल भएपछि आयोजक समूह हौसिएको जानकारी कार्यक्रममा दिइएको थियो । कार्यक्रम सफल बनाउन कपन गाविसले रु. ३५,००० र एमाओवादी नेता पासाङले ३०,००० प्रदान गरको कुरा पनि जानकारी गराइएको थियो । फाइनल खेल कार्यक्रममा कपनका राजनीतिक तथा सामाजिक क्षेत्रका विभिन्न व्यक्तिहरुको बाक्लो उपस्थिति रहेको थियो ।