नेपालद्वारा सिंगापुर २२ रनले पराजित

नेपालद्वारा सिंगापुर २२ रनले पराजित

कपन अनलाइन

काठमाडौ,श्रावण ६ ।

सिंगापुरमा जारी आइसीसी यू–१९ विश्वकप क्रिकेट छनोट अन्तर्गत एसिया क्षेत्रको छनोट खेलमा नेपालले सिंगापुरलाई २२ रनले पराजित गरेको छ  ।नेपालको यो  तेस्रो जित हो  । सिंगापुरस्थित बालेस्टीर रोडस्थित इन्डियन एसोसियसन ग्राउण्डमा नेपालले दिएको १ सय ६९ रनको लक्ष्य पछ्याएको सिंगापुर ४६ ओभर ५ बलमा १ सय ४६ रनमा  बनाउदै अलआउट भयो । उत्कृष्ट सुरुवात गरेपनि नेपाली बलर चम्कदा सिंगापुर पराजित हुन् पुगेको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४६ ओभर ५ बलमा अलआउट हुँदै १ सय ६८ रन बनायो । नेपालले सिंगापुरविरुद्ध खराब सुरुवात गरेको थियो  । नेपालले मात्र ७४ रन जोड्दा महत्वपूर्ण ४ विकेट गुमाइसकेको थियो । तर, दिपेन्द्रसिंह ऐरीले अर्धशतकीय पारी खेल्दै नेपालको सम्मान जनक स्कोर बनाए । ऐरीले ८३ बलमा २ चौका र २ छक्का प्रहार गर्दै ५४ रन बनाए । नेपालका लागि सन्दिप सुनारले २६, प्रकाश केसीले २५ तथा रोहित कुमार पौडेलले  १५ रन बनाए । सिंगापुरको लागि बिक्रम विर विश्वरोयले ३ तथा आहन गोपीनाथ र आर्यम्यान सुनीलले समान दुई दुई विकेट लिए ।

सिंगापुरले पहिलो विकेटको लागि ओपनर रोशन रंगराजन र सिधान्तले ४० रनको साझेदारी गरेका थिए  ।  रोशन २३ तथा सिधान्त २५ रनमा आउट भएका थिए   । त्यसपछिका ब्याट्सम्यानहरुले उच्च रनको साझेदारी गर्न सकेनन्  । सिंगापुरका हान्सुलदिप सिन्हानियाले ३२, सिन अग्रवालले २१ तथा युवराज सिंहले १९ रन जोडे । नेपालका कप्तान सन्दिप लामिछानेले ४ तथा पवन शर्राफ र  किशोर महतोले समान दुई दुई विकेट लिए ।

यो जितसँगै नेपालले न्युजिल्यान्डमा हुने आईसीसी यू–१९ विश्वकपमा छनोट हुने सम्भावना कायम राखेको छ ।  छनोटमा नेपालले चार  खेलबाट ६ अंक जोडेको छ । सिंगापुरमाथी नेपालको यो लगातार दोस्रो जित हो । छनोटको पहिलो खेलमा पनि नेपालले सिंगापुरलाई ४ विकेट पराजित गरेको थियो । डबल राउण्ड रोबिनका आधारमा जारी छनोटको शिर्ष टोली अर्को वर्ष न्युजिल्यान्डमा हुने आईसीसी यू–१९ विश्वकपका लागि छनोट हुनेछन् ।

तपाइँको प्रतिक्रिया ।