घर्तीको पनि हत्या

कपन अनलाइन 

दाङ, २८ असार ।

दाङका प्रतिष्ठित व्यापारी राजकुमार श्रेष्ठको अपहरणमा संलग्न पूजा घर्तीमगरका बाबुछोरीसहित तीन जना अभियुक्तलाई भारतको हिमाञ्चल प्रदेशको कुमानेबाट प्रहरीले पक्राउ गरेपछि उनीहरुको प्रारम्भिक बयान सुरु भएको छ।

दाङ तुलसीपुरका व्यवसायी राजकुमार श्रेष्ठसँगै अपरणमा परेका घोराहीका रणबहादुर घर्तीको पनि हत्या भएको प्रहरीले जनाएको छ । राप्ती अञ्चल प्रहरी कार्यालयका प्रमुख तथा वरिष्ठ प्रहरी उपरीक्षक ज्ञानविक्रम शाहकाअनुसार श्रेष्ठको हत्या हुनुभन्दा आधा घण्टा अघि घर्तीको हत्या भएको अभियुक्तहरुले बयान दिएको बताए ।

प्रहरीका अनुसार पक्राउ परेका अभियुक्तले रणबहादुरको हत्या राजकुमारको भन्दा पहिले नै गरेको बयान दिएको बताएको छ । प्रहरीका अनुसार रणबहादुरको हत्या पूजाका बावु टिकाराम घर्तीले गरेका हुन् । घर्तीको शव पनि राजकुमारको शव भेटिएको स्थानबाट करिब १ सय मिटर टाढाको दुरीमा सोही जंगलमै गाडिएको छ ।

तुलसीपुर उपमहानगरपालिका–६, स्याउली बजारकी २० वर्षीया युवती पूजा घर्ती मगरले आफ्ना बाबु ४० वर्षीय टिकाराम घर्ती मगरको योजना अनुसार व्यापारी श्रेष्ठको अपहरण र हत्या गरिएको बयान दिएकी छिन् ।

व्यापारी श्रेष्ठसँगै अपहरणमा परेका घोराही हापुरका ठेकेदार रणबहादुर घर्ती मगरको पनि ढुंगाले हानेरै सोही दिन हत्या गरिएको पूजाले बयान दिएकी छिन्।

श्रेष्ठको जेठ २६ गते अपहरण गरी सल्यान, छत्रेश्वरी गाउँपालिका–४ स्थित झिम्पे रेन्ज जङ्घगलमा लगेर हत्या गरिएको थियो भने घर्तीको शव पनि त्यहीँ आसपासमा रहेको पक्राउ परेकाहरुले बयान दिएका थिए ।

सो घटनामा हत्याका योजनाकारलाई पनि प्रहरीले पक्राउ गरी हिजो सार्वजनिक गरेको थियो ।

तपाइँको प्रतिक्रिया ।