सन्दर्भ नारी दिवसः कपन गाविसले भव्य कार्यक्रम आयोजना गर्यो
कपन अनलाइनमहिला हिंसा तथा महिलामाथि हुने अन्यायका समाचारले यो वर्ष नेपाली मिडियाका प्रायः सबै क्षेत्र छाएको थियो । गाउँ गाउँमामात्र नभएर सहरहरुमा पनि महिलाहरु विभिन्न रुपमा उत्पिडनमा परेका समाचार आइरहे । महिला अधिकारवादीहरु यो विषयलाई बालुवाटारसम्म पुगेर उठाइरहेका बेला अन्तराष्ट्रिय नारी दिवस सबै तह र तप्काका नारीहरुको घर आँगनमा आएको छ । देशभर नारी दिवसको अवसर पारेर विविध कार्यक्रमहरु भएका छन् । महिला मन्त्रालय संहाल्ने पुरुष मन्त्रिलाई पनि आज भ्याइनभ्याइ कार्यक्रमहरु आइपरे ।
अन्तराष्ट्रिय नारी दिवसको अवसर पारेर आज कपनमा एक भव्य कार्यक्रमको आयोजना गरियो । यस कार्यक्रमका लागि कपन गाविसले रु. ७० हजार रुपैंया लगानी गरेको थियो । कपन गाविसले आयोजना गरेको कार्यक्रम भए पनि कार्यक्रम अवधिभर कसैले पनि यो कार्यक्रम कपन गाविसको हो भनेर अनुभूति गर्नचाहिँ पाएनन् ।
कपन ३ स्थित ह्याण्डबल चौरमा आयोजित कार्यक्रममा कपन १ मा रहेको ज्ञानमाला महिला समूहको वर्चस्व देखिन्थ्यो । कपनमा रहेको करिब २० को संख्यामा रहेको विभिन्न महिला समूहहरु आआफ्नो संस्थाको व्यानेर बोकेर कार्यक्रममा आएका थिए । कार्यक्रममा प्रमुख अतिथिको रुपमा सिएनएन हिरो बनेकी पुष्पा बस्नेत उपस्थित थिइन् भने मञ्चभरी कपनमा देखिइरहने पुरुष राजनीतिक कार्यकर्ता छरिएका थिए । महिला हकहितका बारेमा जानीनजानी पुरुषहरु पनि बोलिरहेका थिए । कार्यक्रमको अन्त्यमा खानाको व्यवस्था गरिएको कार्यक्रममा करिब ५०० को हाराहारीमा महिलाहरु उपस्थित रहेका थिए ।